शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सीजी मोटर्स विद्युतीय कारसहित अटोमोबाइल बजारमा प्रवेश, सार्वजनिक गरियो निटा भी

बुधबार, जेठ २५ २०७९
सीजी मोटर्स विद्युतीय कारसहित अटोमोबाइल बजारमा प्रवेश, सार्वजनिक गरियो निटा भी

काठमाडौं- चौधरी समूह अन्तर्गको सीजी मोटर्स विद्युतीय कारसहित नेपाली अटोमोबाइल बजारमा प्रवेश गरेको छ। सीजी मोटर्सले चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गरेको निटा ब्रान्डको कार बुधबार सार्वजनिक गरेको छ। 

सीजी मोटर्सले छोटो समयमा विद्युतीय कार उत्पादनबाट चर्चा बटुल्न सफल होजोन अटोले उत्पादन गरेको निटा भी कार नेपाल ल्याएको हो। भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्डसहित नेपाली अटोमोबाइल बजारमा प्रवेश गरेको हो।  

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटो (होजोन अटो न्यू इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड)का क्रसओभर कार नेपाली बजारमा ल्याएको हो। हाल उक्त कम्पनी निटा ब्रान्डमा क्रसओभर विद्युतीय कार उत्पादन गर्दै आएको छ। कम्पनीले उत्पादन गरेका विभिन्न मोडलका विद्युतीय कार नेपालमा उपलब्ध गराउने तयारी सीजी मोटर्सको छ।

न्यू इनर्जी सवारी आयात गर्ने निष्कर्षमा पुगेपछि चौधरी समूहले धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउने चाहना पूरा गर्न चिनियाँ कम्पनी रोजेर सम्झौता गरेको जनाएको छ। 

होजोन अटो सन् २०१४ मा स्थापना भएको थियो। चीनको झेजियाङ प्रान्तमा यो कम्पनी खुलेको हो। यो कम्पनीले अमेरिकाको सिलिकन भ्याली र क्यालिफोर्नियामा अटोनोमस भेहिकल रिसर्च सेन्टर स्थापना गरिसकेको छ। 

होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरूमा टेप ब्रान्डमा पर्दछ। होजोनको मुख्य विशेषता उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज नै हो। यो कम्पनी विशुद्ध विद्युतीय कार उत्पादनकै लागि बनेको र त्यही अनुरुपका कार डिजाइन भएका छन्। त्यसैले पनि होजोनको निटा भी कार उत्कृष्ट ठहर्दै आएको छ। 

कम्पनीले २०१८ मा निटा एओ १, २०२० मा निटा यू र निटा भी र २०२१ मा निटा यू प्रो र निटा भी प्रो सार्वजनिक गरेको थियो। सुरुमा नेपालमा निटा भी ल्याएको र क्रमैसँग नयाँ नयाँ मोडल ल्याउँदै जाने सीजी मोटर्सले जनाएको छ। सीजी मोटर्सले ल्याएको निटा भी कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

निटा भीमा सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग गरिएको छ। सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो। चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले समेत सीएटीएलले उत्पादन गरेको ब्याट्री पनि प्रयोग गर्दै आएको छ।

होजोनको रिसर्च सेन्टर अमेरिकाको सिलिकन भ्याली र क्यालिफोर्नियामा तथा बेइजिङमा डिजाइन सेन्टर रहेको छ। होजोन विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलको लगानीकर्ता कम्पनीसमेत हो। 

निटा भीको विशेषता 

लेन्थ- ४ हजार ७० एमएम

वाइड- १६ सय ९० एमएम 

हाइट- १५ सय ४० एमएम 

ह्वीलवेस- २४ सय २० एमएम 

कर्व तौल- १ हजार १ सय ५१ किलोग्राम  

अधिकतम गति- १ सय १ किलोमिटर प्रतिघण्टा 

शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा 

ग्राउन्ड क्लियरेन्स- १ सय ६० एमएम  

ब्याट्री- ३८.५४ केडब्लूएच (सीएटीएल लिथियम आयन) 

मोटरको पावर- ७०/९० केडब्लूरपीएस 

चार्जिङ स्ट्यान्डर्ड- सीसीएस२

अधिकतम टर्क- १ सय ६० एनएम 

१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन

सिट क्षमता- ५

बुट स्पेस- ३ सय ३५ लिटर

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ। निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो।


प्रकाशित : बुधबार, जेठ २५ २०७९१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend