शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

पानी नपर्दा मकै रोप्न समस्या

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २८ २०७९
पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट- आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन्।

सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन्।

पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ। पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड-८ का शेरबहादुर खत्रीले बताए। 

बैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ। केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७० प्रतिशत किसानको खेतबारी बाँझिएको खत्रीले बताए।

त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ। स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ। तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन्।

असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए। वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको उनीहरुको भनाइ छ। रासस


प्रकाशित : बुधबार, वैशाख २८ २०७९१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend