शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

उम्मेदवारसँग सडक र शिक्षामा सुधार माग्दैछन् कोन्ज्योसोमवासी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २५ २०७९
उम्मेदवारसँग सडक र शिक्षामा सुधार माग्दैछन् कोन्ज्योसोमवासी

कोन्ज्योसोम- आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ललितपुरको दक्षिणी भेगको कोन्ज्योसोम गाउँपालिकामा निर्वाचनको रौनक छाएको छ।

गाउँका अधिकांश घरमा राजनीतिक दलका झण्डा देखिन्छ भने चिया पसल, दूध डेरीलगायत नागरिकको जमघटमा निर्वाचनमा कसले जित्ला वा कसले जित्नुपर्छ भन्ने नै प्रमुख विषयवस्तु बनेको छ। काठमाडौँ उपत्यकाबाट नजिक भएर पनि भौतिक विकास र सामाजिक विकासका दृष्टिले यो पालिका पछाडि रहेको छ।

खासगरी तामाङलगायत जनजातिको बाहुल्यता रहेको गाउँपालिकामा शिक्षा क्षेत्रमा खासै विकास हुन सकेको छैन। निर्वाचन नजिकिँदै गर्दा यहाँका स्थानीयवासी (मतदाता) ले सडकको विकास हुनुपर्ने, सुविधासम्पन्न अस्पताल र कृषिमा सहयोगका विषयमा उम्मेदवारसँग माग गरिरहेका छन्।

कोन्ज्योसोमकी सिर्जना लामा उम्मेदवारले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछिन्। पालिकाका पाँच वडामध्ये तीन वडामा बालबालिका विद्यालय गए पनि बीचमा नै छाड्ने गरेको र अभिभावकमा पनि छोराछोरी पढाउनुपर्छ भन्ने सोचाइ नरहेको उनको भनाइ छ। कक्षा ४/५ पुग्दासम्म धेरै बालबालिका पढाइ छाडेर काममा लागिसक्ने उनले बताइन‍्।

उनले भनिन्, 'आमाबुबालाई नै छोरीछोरी पढाउनुपर्छ भनेर सम्झाएर बुझाउनुपर्छ र गरिब मान्छेलाई सहयोग पनि गर्नुपर्छ।'

गाउँपालिकामा अधिकांश सडक कालोपत्र हुन सकेको छैन। वडाका केन्द्रसम्म पुग्न सडक भए पनि सबै कच्ची छन् भने वर्षामा कतिपय सडक हिँड्नै नसकिने अवस्था छ। सडकको सुधार गर्नुपर्ने, कृषिका सामान भण्डारण गर्न केन्द्र, युवाका लागि खेलकुद मैदान, विद्यार्थीका लागि पुस्तकालय निर्माणमा उम्मेदवारले ध्यान दिनुपर्ने उनले बताइन्।

आफूले भोट माग्न आउनेसँग उनीहरुको योजनाका बारेमा सोध्ने गरेको बताइन्। उनले भनिन्, 'सबैले यो यो गर्छु भन्ने कुरा लगभग उस्तैउस्तै छ।'

गाउँपालिकामा पाँच वडामध्ये तीन वडामा तामाङ जातिको बाहुल्यता रहेको छ भने बाँकी दुई वडामा तामाङ, पहरी, मगर, ब्राह्मण, क्षेत्रीलगायतको बसोबास छ। नल्लु, भारदेउ, चौघरेलगायतका गाउँमा तामाङ जातीको पहिचान झल्कने घर, बस्ती, बाटोघाटो छन्। उचाइमा रहेको दलचोकीबाट काठमाडौँ उपत्यकासँगै तराईसम्म देख्न सकिन्छ। गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा, दलचोकी भ्यूटावर, मनकामना मन्दिर, पाथीभरा मन्दिर, बिभिन्न गुम्बा, चैत्यलगायतका पर्यटकीय महत्वका स्थान रहेका छन्। यीनको प्रचारप्रसारमार्फत यहाँको जनजीवनमा सुधार ल्याउन सकिने सम्भावना छ। स्थानीयवासी पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै त्यस क्षेत्रमा उल्लेखीय काम हुन नसकेको भन्दै अब गाउँपालिकामा जितेर आउने पदाधिकारीले त्यसमा ध्यान दिनुपर्ने बताउँछन्। 

स्थानीय रेनुका सापकोटा बालबालिकादेखि वृद्धवृद्धा सबैले यहाँको बाटोमा सुधार चाहेको बताइन्। बाटो सबैतिर पुगे पनि कच्ची भएकाले त्यसलाई कालोपत्र गरेर ओहोरदोहोर सजिलो गराउनुपर्ने उनको अब निर्वाचित हुने अध्यक्ष, उपाध्यक्षसँग अपेक्षा छ। दलचोकीमा यसअघिको नेतृत्वले सुरु गरेको भ्यूटावर चाँडो सम्पन्न गर्न अब आउनेले ध्यान दिनुपर्ने उनले बताइन्। 

सडकपछि निर्वाचित प्रतिनिधिले शिक्षाको सुधारमा ध्यान दिनुपर्ने सापकोटाले बताइन्। बालबालिकाका लागि राम्रो विद्यालय हुनुपर्ने र पढाई राम्रो हुनुपर्ने उनले बताइन्। आफू नपढेको भए पनि सन्तानले गाउँमै राम्रो पढाइको अवसर पाउन भन्ने उनको चाहना छ। अहिलेसम्म गाउँमा निजी विद्यालय नभएको र अब पनि सरकारी विद्यालय नै राम्रो हुनुपर्नेमा उनको जोड छ। उनले भनिन्, 'समयअनुसार अहिले सबैले इङ्लिस चाहिन्छ तर सरकारीमा नेपाली मात्रै छ।'

स्थानीय युवा सुदीप स्याङ्तान सडक र शिक्षाको कमी नै कोन्ज्योसोमको मुख्य समस्या भएको र अब निर्वाचित हुने व्यक्तिले त्यस क्षेत्रमा ध्यान दिनुपर्ने बताए। पालिकाको मुख्य सडक दुई लेनको बनाएर कालोपत्र गर्दा नै समृद्धिका लागि बाटो खुल्ने उनले बताए। शिक्षामा गुणस्तर सुधारमा ध्यान दिनुपर्ने र वडाका सबै बस्तीसम्म शिक्षको पहुँच विस्तार गर्नुपर्नेमा उनको जोड छ। उनले भने, 'भौगोलिकरुपमा डाँडाकाँडासम्म फैलिएकामा त्यहाँसम्म स्कुलको पहुँच पुग्नुपर्छ।' 

पालिकाभित्र कृषि र पशुपालनमा आबद्ध जनसङ्ख्या धेरै भएकाले आधुनिक कृषि प्रणाली अपनाउनुपर्नेमा स्याङ्तानको जोड छ। परम्परागत कृषिमा सुधार आवश्यक छ। अबको निर्वाचनमा सातै पदमा भोट हाल्दा सक्षम र योग्य व्यक्ति छान्ने र आफ्ना साथीभाइ र परिवारजनलाई पनि त्यही सुझाव दिइरहेको उनले बताए। 

पाँच वर्षसम्म आफ्नो पालिका चलाउने मान्छे यस्तो भयो भनेर पछि पश्चाताप गर्नुभन्दा पहिले विचार पुर्‍याउनुपर्ने उनको भनाइ छ। उनले भने, 'पारदर्शी र सक्षम व्यक्ति जितेर आउनुपर्छ।'

कोन्ज्योसोम गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)बाट कृष्णमान लामा, नेकपा (माओवादी केन्द्र) बाट गोपीलाल सिङ्तानले उम्मेदवारी दिएका छन्। गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट राजनप्रसाद घिमिरे, एमालेबाट रणिता तामाङले उम्मेदवारी दिएका छन्। 

कोन्ज्योसोम गाउँपालिकामा अध्यक्षमा तीन जना र उपाध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाअध्यक्षमा १७, वडा सदस्यमा ३१, महिला सदस्य १५, दलित महिला सदस्य १२ गरी ८० ले उम्मेदवारी दर्ता गराएका छन्। रासस


प्रकाशित : आइतबार, वैशाख २५ २०७९१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend