शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

‘किसान कल सेन्टर’मा गुनासो आउने क्रम बढ्दो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
‘किसान कल सेन्टर’मा गुनासो आउने क्रम बढ्दो

काठमाडौं- सरकारले सञ्चालन गरेको ‘किसान कल सेन्टर’मा गुनासो तथा जिज्ञासा आउने क्रम बढेको छ।

कृषि उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यका साथ विसं २०७२ फागुनदेखि सञ्चालनमा आएको उक्त कल सेन्टरमा अहिले दैनिक तीन दर्जनभन्दा बढी गुनासो तथा जिज्ञासा आउने गरेको वरिष्ठ कृषि प्रसार अधिकृत सरोजकान्त अधिकारीले जानकारी दिए।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन किसानलाई सरकारको तर्फबाट उपलब्ध गराउने सेवालाई प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने भएकाले किसान कल सेन्टरको स्थापना गरिएको उनको भनाइ छ।

स्थापनाकालमा दैनिक एक घण्टामात्र सञ्चालन हुँदै आएको उक्त कल सेन्टरलाई पछिल्लो समय विशेषज्ञ राखेर हप्ताको आइतबारदेखि शुक्रबारसम्म नै सञ्चालनमा ल्याइएको वरिष्ठ कृषि प्रसार अधिकृत अधिकारीले बताए। उक्त सेवा प्रदान गरेसँगै किसानले आइतबार खाद्यान्न, बाली संरक्षण, मौरीखेती, रेशमखेती, च्याउखेती, कृषि बजार, फलफूल, तरकारी पुष्पखेती, माटोसम्बन्धी विषयवस्तु, पशुपक्षीपालन, उत्पादन प्रविधि, घाँस तथा पशु आहारका बारेमा बुझ्न पाउनेछन्।

यस्तै सोमबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी, पुष्पखेती र मत्स्यपालनसम्बन्धी जिज्ञासा राख्न सक्नेछन् भने मङ्गलबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती, उत्पादन प्रविधि, घाँस तथा पशु आहार र चरन व्यवस्थापनका बारेमा जिज्ञासा राख्न पाउनेछन्।

यसैगरी, बुधबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती तथा माटोसम्बन्धी विषयवस्तु र बिहीबार खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती, फलफूल, तरकारी पुष्पखेती तथा माटोसम्बन्धी र उत्पादन प्रविधि र चरन व्यवस्थापनका सम्बन्धमा जिज्ञासा राख्न सक्ने वरिष्ठ कृषि प्रसार अधिकृत अधिकारीले बताए। शुक्रबार भने खाद्यान्न बाली, बाली संरक्षण, मौरी, रेशम एवं च्याउखेती फलफूल, तरकारी पुष्पखेती र मत्स्यपालनका बारेमा जिज्ञासा राख्न सक्नेछन्।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रबाट सञ्चालनमा आएको उक्त कल सेन्टर आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने प्रशिक्षण केन्द्र प्रशासन शाखाका अधिकृत भावना पौडेलले जानकारी दिए। उक्त कल सेन्टरमा १६६००१९५००० टोल फ्रि नम्बरमा फोन गरेर कृषिसम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने अधिकृत पौडेलले बताए। रासस


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend