शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा मोटर्सले अर्को साता सार्वजनिक गर्दैछ नयाँ विद्युतीय कार

बिहीबार , वैशाख ८ २०७९
टाटा मोटर्सले अर्को साता सार्वजनिक गर्दैछ नयाँ विद्युतीय कार

टाटा मोटर्सले सार्वजनिक गर्ने नयाँ इभी विश्वबजारलाई लक्षित गरि ल्याउने जनाएको छ। नयाँ विद्युतीय कार अप्रिल २९ मा सार्वजनिक गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स विद्युतीय प्यासेन्जर कार उत्पादनमा निक्कै आक्रामक देखिएको छ। कम्पनीले यसअघि नेक्सन इभी र टियोर इभी बजारमा ल्याइसकेको छ। आगामी साता टाटाले आफ्नो तेस्रो विद्युतीय कार बजारमा ल्याउने भएको छ। 

कम्पनीले कुन मोडल सार्वजनिक हुने नखुलाए पनि धेरैले अल्ट्रोजको इभी भर्सन आउने अनुमान गरेका छन्। टाटा मोटर्सले सार्वजनिक गर्ने नयाँ इभी विश्वबजारलाई लक्षित गरि ल्याउने जनाएको छ। नयाँ विद्युतीय कार अप्रिल २९ मा सार्वजनिक गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

टाटा मोटर्सले २०२० को अटो एक्सपोमा अल्ट्रोज इभी सोकेस गरेको थियो। अल्ट्रोज टाटाको प्रिमियम ह्याचब्याक कार हो। कम्पनीले यही प्रिमियम ह्याचब्याक मोडलको विद्युतीय भर्सन समेत ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको थियो। 

टाटाले विद्युतीय कार सार्वजनिक गर्ने तयारी गर्दा नै २५० देखि ३०० किलोमिटर रेन्ज दिने कार ल्याउने बताएको थियो। लिथियम आयन ब्याट्री हुने टाटाकार विद्युतीय कार शून्यदेखि ८० प्रतिशत चार्ज हुन ६० मिनेटमात्र लाग्ने गरि प्रविधि विकास गरिरहेको छ। 

नेक्सन इभीलाई समेत परिमार्जित गरि लङ रेन्जमा ल्याउने तयारी टाटा मोटर्सले गरिरकेको छ। अहिले नेक्सन इभीको स्ट्यान्डर्ड भर्सन ३०.२ केडब्लूएच ब्याट्री प्याक रहेको छ। अब आउने लङ रेन्ज नेक्सन इभीमा ४० केडब्लूएच ब्याट्री हुनेछ। 

त्यस्तै टाटा मोटर्सले नयाँ विद्युतीय एसयूभी समेत ल्याउने घोषणा गरेको छ। अहिलेसम्म बजारमा आएका टाटाका विद्युतीय कारहरु आईसी इन्जिन कारलाई परिमार्जन गरेर ल्याएको थियो। अब भने कम्पनीले पहिलो पटक नयाँ इभी कन्सेप्ट सार्वजनिक गरेको हो। कर्भ कन्सेप्टलाई टाटाले बाहिरी र भित्री बनोवट दुबैमा ‘फ्युचरस्टिकि डिजाइन’का रुपमा लिएको छ। 

कर्भ कन्सेप्ट बजारमा आउँदा एक पटकको फुल चार्जमा ५०० किलोमिटर रेन्ज दिने दावी कम्पनीको छ। 

टाटा मोटर्सको सेकेन्ड जेनेरेशन इभी आर्किटेक्चर डिजाइन कन्सेप्टमा बनेको यो एसयूभी टाटाको सफल सवम्प्याक्ट एसयूभी टाटा नेक्सनभन्दा माथिल्लो क्याटागोरीमा हुनेछ। टाटा मोटर्सले नेक्सन इभीको नयाँ भर्सन समेत सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ। यद्यपी नयाँ कार भनिएकाले अल्ट्रोज इभी नै सार्वजनिक हुने धेरैको विश्वास छ। 

टाटा मोटर्सका प्यासेन्जर कार नेपाली बजारमा समेत लोकप्रिय हुँदै गएका छन्। त्यसमा पनि टाटाको नेक्सन इभी खरिद गर्न उपभोक्ताले केही महिना कुर्नुपर्ने अवस्था छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा टिगोर इभी पनि केही समयअघि नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। 

भारतमा सार्वजनिक भएको केही समयपछि अल्ट्रोज इभीसमेत नेपाली बजारमा आउने छ।  


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend