शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ड्याटसन ब्रान्डको उत्पादन बन्द

बिहीबार , वैशाख ८ २०७९
ड्याटसन ब्रान्डको उत्पादन बन्द

पहिला पनि उत्पादन बन्द गरेर सन् २०१३ बाट पुनः उत्पादन सुरु गरेको ड्याटसन पछिल्लो समय भारतमा मात्रै उत्पादन भइरहेको थियो।

काठमाडाैं- जापानी कार उत्पादक निसानकाे सब ब्रान्ड ड्याटसनका कार भारतमा उत्पादन नहुने भएका छन्। भारतमा केही महिनाअघि अमेरिकी कार उत्पादक फोर्ड मोटर्सपछि निसानको सस्तो ब्राण्डका रुपमा चिनिएको ड्याटसनले आफ्नो उत्पादन बन्द गरेको छ। 

पहिला पनि उत्पादन बन्द गरेर सन् २०१३ बाट पुनः उत्पादन सुरु गरेको ड्याटसन पछिल्लो समय भारतमा मात्रै उत्पादन भइरहेको थियो। अब सधै र सबै देशमा ड्याटसनका कार बिक्री हुने छैन। 

भारतमा करिब ९ वर्ष उत्पादन भएको ड्याटसन अब भने सधैंको लागि बन्द भएको हो। निसानले यसअघि नै रसिया र इन्डोनेशियामा पनि  ड्याटसनको उत्पादन बन्द गरेको थियो। तर, भारतमा भने ड्याटसनको गो, गो प्लस र रेडी गो समेत तीन मोडल उत्पादन गर्दै आएको थियो। 

यस अघिनै कम्पनीले गो र गोप्लसको उत्पादन बन्द गर्दै २०२१ मा रेडी गोको फेसलिफ्ट मोडल उत्पादन गरिरहेको थियो। भारतमा उत्पादन बन्द भएसँगै ड्याटसनका कार नेपाली बजारमा समेत आउने छैनन्। 

बजारमा आएका नयाँ माेडल र उपभोक्ताको मागअनुसारका कार उत्पादन गर्न नसक्दा ड्याटसनको बिक्रीमा उल्लेख्य गिरावट आएको थियो। सन् २०२१ जम्मा ४ हजार २९६ वटा मात्र ड्याटसनका कार बिक्री भएकाे थियो।

उत्पादन बन्द भएता पनि निसानले ड्याटसनका ग्राहकहरुलाई सर्भिस, स्पेयर्स पार्टस तथा वारेन्टीको सुविधा उपलब्ध गराउने जनाएको छ। निसानकै नेटवर्कमा ड्याटसनका गाडीले सर्भिस लगायतका सुविधाहरु पाउने विश्वास कम्पनीले दिलाएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

नेपालमा पनि डाट्सनको कार पायोनीयर मोटर्सले विक्री गर्दै आएको छ। गत वर्षबाटै कम्पनीले ड्याटसनको अलग्गै रहेको सोरुम बन्द गरेकाे थियो। साेरुम बन्द गरेपनि निसानकै सोरुमबाट ड्याटसनका कार बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको थियो। नेपाली बजारमा पनि ड्याटसनका कार निक्कै सानो संख्यामा बिक्री हुँदै आएको थियो। 


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend