शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कियाले विश्वबजारलाई लक्षित गरि भारतमा विद्युतीय एसयूभी उत्पादन गर्ने

मंगलबार, वैशाख ६ २०७९
कियाले विश्वबजारलाई लक्षित गरि भारतमा विद्युतीय एसयूभी उत्पादन गर्ने

ती कार मध्ये ५० प्रतिशत विद्युतीय हुने दाबी कम्पनीले गरेको छ। २०३० सम्म कियाले विश्व बजारमा १४ नयाँ मोडलका विद्युतीय कार ल्याउने जनाएको छ। 

काठमाडौं- भारतमा कार उत्पादन सुरु गरेको तेस्रो वर्षमै दक्षिण कोरियाली कार निर्माता कम्पनी किया देशको पाँचौं ठूलो कार उत्पादक बन्न सफल भएको छ। 

बढ्दो विद्युतीय कारको मागलाई सम्बोधन गर्दै बजार विस्तारलाई थप मजबुत बनाउन कियाले भारतमा सानो आकारको विद्युतीय एसयूभी उत्पादन गर्ने तयारी गरेको छ। कम्पनीले भारतबाट उत्पादन गर्ने उक्त विद्युतीय एसयूभी विश्व बजारमा समेत बिक्रीका लागि लगिने छ। 

उक्त कारको कोडनेम एवाई दिइएको छ। सो कार २०२५ सम्ममा बिक्रीका लागि तयार भइसक्ने अनुमान गरिएको द इकोनोमिक टाइम्सले लेखेको छ। भारतमा सेल्टोस र सोनेटको उत्पादन गरेर चर्चामा रहेको कियाले भारतीय बजारमा २०२२ मा विश्व बजारमा बिक्री गरिरहेको इभी६ ल्याउने तयारी समेत गरेको छ। 

भारतमा सुजुकी तथा टोयोटाले पनि २०२५ मै विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरेका छन्। कियाले भारतमा बनाउने विद्युतीय एसयूभी पनि सोही वर्ष बजारमा आउने छ। 

भारतीय कार उत्पादक कम्पनी टाटा मोटर्ससँग अन्य कम्पनीले विद्युतीय कारमा प्रतिस्पर्धा गर्नुपर्ने छ। हाल भारतको विद्युतीय कार बजारमा टाटाको बजार हिस्सा करिब ९० प्रतिशत रहेको छ। 

टाटा मोटर्स, महिन्द्रा एन्ड महिन्द्रा, हुन्डाईलगायत कम्पनीले भारतमा दर्जनभन्दा बढी विद्युतीय कार मोडल सार्वजनिक गर्ने योजना बनाएका छन्। 

कियाले भारतमा २०३० सम्ममा वार्षिक ४० लाख कार बिक्री गर्ने लक्ष्य लिएको छ। ती कार मध्ये ५० प्रतिशत विद्युतीय हुने दाबी कम्पनीले गरेको छ। २०३० सम्म कियाले विश्व बजारमा १४ नयाँ मोडलका विद्युतीय कार ल्याउने जनाएको छ। 

कोरियाली कार उत्पादकका कियाका लागि भारत राम्रो बजारका रुपमा दरिएको छ। कियाको विश्व बजारको बिक्री मध्ये भारको बिक्री १० प्रतिशत रहेको छ भने आम्दानीमा भारतको योगदान ८ प्रतिशत रहेको छ। कियाले ९० भन्दा बढी देशमा कार निर्यात गर्दै आएको छ।

कियाले नेपाली बजारमा पनि विद्युतीय कार बिक्री गर्दै आएको छ। कियाले यसअघि साेल इभी र निराे बिक्री गर्दै आएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नयाँ विद्युतीय कार ल्याउने तयारी गरेको छ। 


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend