शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अर्थतन्त्र ध्वस्त भयो, अब कर्मचारीले तलब र जेष्ठ नागरिकले भत्ता नपाए अनौठो नमाने हुन्छ : ओली

आइतबार, चैत २७ २०७८
अर्थतन्त्र ध्वस्त भयो, अब कर्मचारीले तलब र जेष्ठ नागरिकले भत्ता नपाए अनौठो नमाने हुन्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था ध्वस्त भइरहेकाले अब कर्मचारीले तलब र जेष्ठ नागरिकले भत्ता नपाउने स्थिति आएपनि अनौठो नमाने हुने बताएका छन्। 

आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको समेत बताए।

उनले केही समयपछि कर्मचारीले तलब पाएनन् र जेष्ठ नागरिकहरूले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गरे।

देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले बताए। ओलीले एमालेले चुनावको बसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताए।

‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको। श्रीलंका बन्न जाँदैछ नेपाल। केही समयपछि तपाईंहरूले तनाखा पाउनुभएन भने अनौठो नमान्नु होला। तनाखा दिनसक्ने अवस्था छैन। जेष्ठ नागरिकहरूले भत्ता पाएनन् भने अनौठो नमान्नु होला। दिन सक्ने अवस्था छैन। योजनाहरू, आयोजनाहरू काटिएका छन्। त्यो गठबन्धनमा लागेका त खुशी नै होलान्' उनले भने, 'देश यस्तो अवस्थामा पुग्दापनि गठेहरू आनन्दमा छन्। प्रशन्न छन्। खुशी छन्। किनभने एमालेलाई रोकियो। एमालेलाई सरकारबाट हटाइयो। कतिदिन हटाउने एमालेलाई सरकारबाट? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल।’

एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको आरोप लगाए। उनले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गरे। उनले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गरे।

‘देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरूले। बर्बाद बनाउँदैछन्, अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो। देश एउटा फेल्ड स्टेट तिर जाने अवस्था आउँदै छ। श्रीलंका कस्तो भइराखेको छ अवस्था? कोही विदेश जाने कल्पना नगरेहुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन। अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ। कारोबारहरू उतै भुक्तानी हुन्छ। देशभित्र पैसा हुँदैन। चरम भ्रष्टता भएको छ। यो कुरा सरकारमा बस्नेहरू र गठबन्धनवालाहरू बुझेकै छैनन् तिनीहरू त घरमा आगो लगाए। गौँथली माथि उडेको देखेपछि काहाँ बस्छौँ गौथली घुम्छौँ बादलमुनि मायालु भन्दै गाउँदै आफ्नै घरमा आगो लागेको थाहा छैन’ उनले भने। 


प्रकाशित : आइतबार, चैत २७ २०७८१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend