शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २७ २०७८
डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

महेन्द्रनगर- बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका-७ मलासक्षेत्र सरेका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो। जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढीे विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आय आर्जनको स्रोत पनि  बाख्रापालन नै रहेको छ।

कञ्चनपुरसित सिमाना जोडिएको चुरेका क्षेत्रको पीपलकोटका प्रायः हरेक स्थानीयवासीका  घरमा बाख्रापालन गरिन्छ। आठ दशकभन्दा पुरानो बस्ती सडक सञ्जालसित नजोडिदा मलास क्षेत्रको विकास हुन नसकेको कृषक धाँमीको गुनासो थियो। 'पञ्चानन्बे प्रतिशतले बाख्रापालन र केहीले अन्नबालीका साथै तरकारी, अदुवाखेती गर्छन्', उनले भने, 'बाख्रा खरिदका लागि व्यापारी गाउँमै पुग्न थालेपछि बाख्रापालनप्रतिको आर्कषण अझ बढेको छ।' अहिले करिब ४० वटा बाख्रा पाल्नु भएका धामीले प्राप्त आम्दानीबाट महेन्द्रनगरबाट चामललगायत खाद्यान्न खरिद गरी परिवारको छाक टार्दै आएको बताए।

मलासको पीपलकोट, बड्डीमलास क्षेत्रबाट सदरमुकाम डडेल्धुरामा पुग्न आठ/नौ घण्टा लाग्ने  स्थानीयवासीले बताए। 'डडेल्धुरा सदरमुकाम जान महेन्द्रनगर झरेर अत्तरिया हुँदै डडेल्धुरा पुग्नुपर्छ।' स्थानीय ६३ वर्षीय जोगी धामीले भने, 'यहाँबाट हिडेर जोगबुढा पुग्नै तीन घण्टा लाग्छ।' विसं २०४६ मा बझाङको बुङ्गलबाट बसाइँ सरेर यहाँ बस्दै आएका धामीले १०० वटा बाख्रा आफूसित रहेको बताए। उनले बाख्रपालन दशकौँदेखि गरिरहेको भए पनि सम्बन्धित निकायबाट अनुदानलगायत कुनैपनि सहयोग नपाएको गुनासो गरे।

'यो वर्ष पहिलो पटक ५० परिवारलाई खोर बनाउन कृषि ज्ञान केन्द्रले अनुदान दिएको छ', उनले भने, 'यहाँ बाख्रापालन नगरेको घर भेटाउनुहुन्न।' पर्शुराम नगरपालिका-७ को अधिकांश क्षेत्रमा बाख्रापालन भइरहेकाले उक्त क्षेत्रमा थप प्रोत्साहनका लागि सरकारले अनुदान दिनुपर्ने स्थानीयवासीको माग थियो। 'बाख्रादेखि तरकारीसम्म बिक्रीका लागि महेन्द्रनगर मण्डपमा जानुपर्छ', उनले भने, 'भौगोलिक हिसाबले विकट भए पनि दुरीका हिसाबले महेन्द्रनगर नै नजिक पर्छ।' मलास क्षेत्रको पीपलकोट, बड्डी मलास, नाउला, कसान, बतासेलगायत स्थानका बासिन्दाले लामो समयदेखि कृषिसँगै बाख्रापालन गरिरहेका छन्।

'गहुँ/धान उत्पादन भए पनि वर्षमा तीन/चार महिना मात्रै खान पुग्छ।' अर्का स्थानीयवासी विनोद बोहराले भने, 'बाँकी गुजारा भनेको बाख्रपालनबाट नै गरिने हो।' उनले बाख्रा बिक्रीका लागि कुनै समस्या नभएको बताए। 'गाउँमै खसीबोका किनबेच हुन थालेपछि रोजगारीका लागि भारत जाने स्थानीयवासी पनि गाउँमै बाख्रापालन गर्न थालेका छन्', कृषक बोहोराले भने, 'स्थानीय सरकार आएपछि पनि किसानमुखी एउटा योजनासमेत गाउँमा आएन्।' रासस


प्रकाशित : आइतबार, चैत २७ २०७८०८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend