काठमाडौं- मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको कमजोर अवस्थाले लगानीकर्ता बजारबाट पर भइरहँदा बजारमा सहयोगी वातावरण अझै बनिसकेको छैन। अर्थतन्त्र सुधारका लागि नीतिगत निर्णयका साथै सबैलाई विश्वस्त पार्नुपर्ने निकाय नै गलत बाटोमा हिँडिरहँदा त्यसको असर सबैतिर देखिएको छ।
अर्थतन्त्रमा देखिएको खराब अवस्थाले सेयर बजारलाई असर गरिरहँदा मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै उनलाई निलम्बन गरेको छ। जसले अर्थतन्त्रमा हुनुपर्ने सुधारका काम अझ पछाडि धकेलिनुका साथै अन्योलको वातावरण बढिरहेको छ।
यो साता आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएकोमा बुधबारसमेत २३.३२ अंकको गिरावट आएको थियो। कारोबारको चार दिनमा ११६.७६ अंकले गिरावट आएको बजारमा बिहीबारको बढोत्तरीले केही राहत भने मिलेको छ।
उच्च बिन्दुमा पुगेर उतारचढाव हुँदै पछिल्लो समय लगातार घटिरहेको बजार सातामा बुधबार २४२८.७५ बिन्दुमा झरेको थियो। बिहीबार भने ३५.६६ अंकको वृद्धिसँगै बजार २४६४.३१ बिन्दुमा पुगेको हो।
बजारले सकारात्मक संकेत गरेसँगै लगानीकर्ताहरूको मनोबल बढेको विश्लेषकहरू बताउँछन्। अर्थतन्त्रमा पछिल्लो समय देखिएका खराब अवस्थाबीच पनि चुनावी महोलले बजारलाई उकालो यात्रामा डोर्याउने विश्वास रहेको उनीहरू बताउँछन्। सातामा अन्तिम दिन बिहीबारको कारोबार रकममा पनि झिनो सुधार देखिएको छ।
लगातार घटिरहेको सेयर बजारमा गएको साता कारोबारको अन्तिम दिन बिहीबार भने हरियाली छाएको थियो। तर त्यही क्रमको निरन्तरता आउने साताको बजारमा मुस्किल हुने देखिएको विश्लेषकहरू बताउँछन्। बैंकहरूले लगानी प्रवाह ठप्प पारेपछि निक्षेप धमाधम बढ्न थालेको छ। जसको प्रभाव सेयर बजारमा बिहीबार देखिएको थियो।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३२०० भन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा देखिएको थियो।
मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ता बजारबाट पर भइरहँदा बिहीबारको अवस्थाले बजारप्रति विश्वास थपिने आश बढेको विश्लेषकहरू बताउँछन्। यसले बैशाखसम्मका लागि देखिएको पर्ख र हेरको अवस्थामा सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ। बिहीबारको अवस्थाले आउने आइतबारदेखि साथ पाएमा बजारले थामिएर उकालो यात्रा समाउने विश्लेषण भइरहे पनि अवस्था त्यस्तो देखिँदैन।
अर्थतन्त्रमा देखिएको संकटमा आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू तयार हुँदै जाने उनीहरूको विश्लेषकहरूको बुझाइ विपरीत गतिविधिहरू भइरहेका छन्। ठूला लगानीकर्ताको चङ्गुलमा रहने बजारमा सबैका लागि लगानीको मनोवैज्ञानिक आधार देखिएको छैन।
अन्यत्र लगानीको प्रवाह ठप्प हुदाँ पैसा हुनेहरूले सेयर बजारमा लगानी बढाउन सक्ने देखिएको विश्लेषकहरू बताउँछन्। तर गएको केही सातायताको कारोबार रकम हेर्ने हो भने अवस्था भिन्न छ। बिहीबार बढेको बजारमा पनि २ अर्ब १२ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। बजारको बढ्दो गिरावट र लगानीकर्ताहरूको मनोवैज्ञानिक अवस्थालाई हेर्ने हो भने बजार यसै गतिमा रोकिने आधार छैन। बजार लामै समयसम्म करेक्सनमा जान सक्ने पनि देखिन्छ।
अर्थतन्त्रको अवस्थाले बिग्रिएको सेयर बजारमा फेरिएका राजनीतिक घटनाक्रम र अस्वभाविक निर्णयहरूको प्रभाव पर्ने विश्लेषकहरू बताउँछन्। चुनावी माहोलले तान्नुपर्ने बजारलाई पछिल्ला अवस्थाले साथ दिइरहेको छैन। आउने साताको अवस्थामा पनि यिनै विषयहरूले असर गर्ने नै छ।