बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

भारतीय रूपैयाँ कारोबारसम्बन्धी व्यवस्था परिमार्जन, २५ हजार रूपैयाँसम्म नयाँ नोट ल्याउन-लैजान पाइने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ७ २०८३
भारतीय रूपैयाँ कारोबारसम्बन्धी व्यवस्था परिमार्जन, २५ हजार रूपैयाँसम्म नयाँ नोट ल्याउन-लैजान पाइने

भारू १ सय वा सोभन्दा कम दरका भारतीय नोट तथा मुद्रा भने प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान र सटही गर्न सकिनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र-२०८२ संशोधन गरेको छ। राष्ट्र बैंकले भारतीय रूपैयाँको प्रयोग तथा कारोबारसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको हो।

केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०७५ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी इजाजतपत्र प्राप्त बैंक, वित्तीय संस्था तथा सम्बद्ध निकायहरूका लागि यो नयाँ परिपत्र जारी गरेको हो।

नयाँ व्यवस्थाअनुसार भारत सरकार र भारतीय रिजर्भ बैंकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन गरी चलनचल्तीमा ल्याएका भारू २ सय र ५ सय दरका नोटहरू नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारसम्मको सीमाभित्र रही ल्याउन, लैजान तथा सटही गर्न पाउने भएका छन्। 

तर, सन् २०१६ नोभेम्बर ९ अघि नै चलनचल्तीबाट हटाइएका भारू ५ सय र १ हजार दरका नोटहरूको कारोबार गर्न पाइने छैन।

त्यसैगरी, भारतमा हाल चलनचल्तीमा रहेको भारू २ हजार दरको नोट साथमा राख्न, ओसारपसार गर्न वा कारोबार गर्न नपाइने व्यवस्थालाई निरन्तरता दिइएको छ।

भारू १ सय वा सोभन्दा कम दरका भारतीय नोट तथा मुद्रा भने प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान र सटही गर्न सकिनेछ। 

नेपाली नागरिकले भारतीय रूपैयाँ भारतबाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन नपाइने पुरानै व्यवस्था कायम राखिएको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , साउन ७ २०८३१७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend