काठमाडौं- आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि व्यापार घाटा बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष निर्यात बढे पनि आयातको वृद्धि उच्च हुँदा व्यापार घाटा १६.६३ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०८२/८३ मा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँबराबरको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा आयात १६.२० प्रतिशतले बढेको हो।
त्यस्तै गत आर्थिक वर्ष ३ खर्ब १५ अर्ब २९ करोड ५ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा निर्यात २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ थियो। निर्यात १३.८१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
निर्यातभन्दा आयात तीव्र गतिमा बढेपछि व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ लाख ८६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो। एक वर्षमा व्यापार घाटा १६.६३ प्रतिशतले बढेको हो।
यस्तै कुल वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँको तुलनामा १५.८८ प्रतिशत बढी हो।
तथ्यांकअनुसार आयात-निर्यात अनुपात ६.५१ गुणाबाट ६.६५ गुणा पुगेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशत मा झरेको छ भने आयातको हिस्सा ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ।