काठमाडौं- नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीजले 'नास-आईटी एक्स्पो २०२६' आयोजनाको घोषणा गरेको छ। आगामी नोभेम्बर २१-२२ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आईटी एक्स्पो आयोजना हुने भएको हो।
दुईदिने यस एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एकै थलोमा ल्याइ नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ।
नास आईटी एक्स्पो २०२५ को उल्लेखनीय सफलतालाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोले प्रविधि कम्पनीहरूलाई आफ्ना नवीन समाधानहरू प्रस्तुत गर्ने, व्यवसायहरूसँग प्रत्यक्ष रूपमा जोडिने तथा दीर्घकालीन सहकार्य र साझेदारी विस्तार गर्ने अझ सशक्त मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ। साथै, यसले नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास लिइएको छ।
एक्स्पोमा अग्रणी आईटी कम्पनीहरू तथा नवप्रवर्तनशील स्टार्टअपहरूको प्रविधि प्रदर्शनी, व्यवसायका वास्तविक चुनौतीहरू समाधान गर्ने उत्पादन तथा प्रविधि समाधानहरूको प्रदर्शनी हुनेछ। यस्तै, प्रविधि कम्पनी, व्यवसाय, लगानीकर्ता तथा सरोकारवालाबीच नेटवर्किङ तथा सहकार्यका अवसरहरू मिल्ने छ।
डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिहरू सम्बन्धी ज्ञानमूलक सत्रहरू सञ्चालन हुनेछन् भने नयाँ साझेदारी, व्यापारिक अवसर तथा नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर मिल्ने छ।