शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

लेक लागे भेडी गोठ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २० २०७८
लेक लागे भेडी गोठ

मनाङ- जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ। हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ। हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन्।
 
गर्मी बढेपछि हिमपात नहुने भएकाले बेसीबाट लेकतर्फ चौँरी तथा भेडी गोठ सारिएको हो। गर्मी लागेपछि बेसीमा अन्न बाली लगाउने समय हुने तथा चरन क्षेत्रमा घाँस सकिँदै जाने भएकाले पनि चौँरी तथा भेडाहरु बेसीबाट लेकतिर जान खोज्ने गरेको पशुपालक व्यवसायी बताउँछन् । त्यस्तै लेकमा जाडो बढेपछि पशुहरु बेसीतर्फ झर्न चाहने गरेको उनीहरु बताउँछन्। 

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने चौँरी तथा भेडाले धेरै चिसो पनि सहन सक्दैनन् भने बढी गर्मीमा पनि बस्न रुचाउँदैनन्। परम्परागत पशुपालन व्यवसायमा लागेका चामे गाउँपािलका–१ तिमाङका कान्छा गुरुङ चरन क्षेत्र हेरी घुम्ती गोठ बनाउँदै जेठसम्ममा करिब चार हजार मिटरको उचाइसम्म चौँरी तथा भेडी गोठ पुर्‍याउनुपर्ने बताउँछन्। 

चौँरी तथा भेडालाई बहुउपयोगी जनावरका रूपमा लिने गरिन्छ। चौँरीको दूधबाट चीज, मखन तथा छुर्पी बनाइन्छ भने भेडाको ऊनबाट कम्मल, राडी, स्विटर बनाउन प्रयोग गरिन्छ। भेडाको घ्यू औषधिका रूपमा पनि प्रयोग गरिन्छ। केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरूपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ।
  
हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेसा मानिएको चौँरी तथा भेडा पालन व्यवसायलाई तीनै तहका सरकारले यथोचित सहयोग गरेमा वैदेशिक रोजगारको मोहका कारण सङ्कटमा पर्दै गएको यस पेशामा संलग्न व्यवसायीहरुको आयआर्जनमा सहयोग पुग्ने विज्ञहरु बताउँछन्। सरकारले यस पेशालाई विस्थापन हुनबाट जोगाउनुपर्ने अवस्था छ। रासस


प्रकाशित : आइतबार, चैत २० २०७८१२:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend