शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

असारमा घरजग्गा कारोबारमा सुधार, लिखत पारित २८.८ प्रतिशतले बढ्दा राजस्व दोब्बर

शुक्रबार, साउन १ २०८३
असारमा घरजग्गा कारोबारमा सुधार, लिखत पारित २८.८ प्रतिशतले बढ्दा राजस्व दोब्बर

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असार महिनामा घरजग्गा खरिदबिक्री (लिखत पारित) र त्यसबाट हुने राजस्व संकलन दुवै उल्लेख्य रूपमा बढेका छन्।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा बजारमा उल्लेखनीय सुधार देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असार महिनामा घरजग्गा खरिदबिक्री (लिखत पारित) र त्यसबाट हुने राजस्व संकलन दुवैमा उल्लेख्य वृद्धि भएको छ।

विभागका अनुसार असार महिनामा देशभरका १३८ मालपोत तथा भूमि प्रशासन कार्यालयबाट ७० हजार ४८० वटा लिखत पारित भएका छन्। यो संख्या अघिल्लो महिना जेठको ५४ हजार ७२४ वटाको तुलनामा १५ हजार ७५६ वटा अर्थात् २८.८ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको असार महिनासँग तुलना गर्दा पनि लिखत पारित १४ हजार ९५६ वटा अर्थात् २६.९३ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ।

घरजग्गा कारोबारमा आएको वृद्धिसँगै सरकारको राजस्व संकलनमा पनि ठूलो सुधार देखिएको छ। जेठ महिनामा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रूपैयाँ राजस्व उठेकोमा असारमा यो बढेर ११ अर्ब ८४ करोड ४९ लाख ५५ हजार ५६ रूपैयाँ पुगेको छ। अर्थात् एक महिनामै घरजग्गा कारोबारबाट उठ्ने राजस्व दोब्बरभन्दा बढी भएको छ।

पछिल्ला केही महिनादेखि अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसक्दा घरजग्गा बजार सुस्त देखिएको थियो। तर आर्थिक वर्षको अन्तिम महिनामा भने कारोबारले उल्लेखनीय गति लिएको देखिन्छ। विज्ञहरूका अनुसार आर्थिक वर्षको अन्त्यमा कर दायित्व व्यवस्थापन, सम्पत्ति हस्तान्तरण, व्यवसायिक हिसाब मिलान तथा विभिन्न वित्तीय कारणले पनि असारमा कारोबार बढ्ने प्रवृत्ति रहने गरेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षभर घरजग्गा कारोबार क्रमशः बढ्दो क्रममा देखिएको छ। साउनमा २८ हजार ३८३, भदौमा २३ हजार ३५३, असोजमा २७ हजार ४९४, कात्तिकमा ३१ हजार ६२१, मङ्सिरमा ३६ हजार ४७१, पुसमा ५१ हजार ८८८, माघमा ५१ हजार ६३२, फागुनमा ५५ हजार ५३१, चैतमा ५० हजार ८३७, बैशाखमा ५८ हजार ८८६, जेठमा ५४ हजार ७२४ र असारमा ७० हजार ४८० लिखत पारित भएका छन्। यसले आर्थिक वर्षको अन्तिम महिनामा कारोबार वर्षकै उच्च विन्दुमा पुगेको देखाउँछ।

राजस्वतर्फ पनि असारमा उल्लेखनीय छलाङ देखिएको छ। फागुनमा करिब ४ अर्ब १५ करोड रूपैयाँ, चैतमा ६ अर्ब १६ करोड ५७ लाख रूपैयाँ, बैशाखमा ६ अर्ब २६ करोड ३८ लाख रूपैयाँ, जेठमा ५ अर्ब २४ करोड रूपैयाँ राजस्व उठेकोमा असारमा यो बढेर ११ अर्ब ८४ करोड रूपैयाँ नाघेको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend