शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मुगु र बाजुराका विकट क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा

शुक्रबार, साउन १ २०८३
मुगु र बाजुराका विकट क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिनसक्ने भएका छन्।

काठमाडौं- नेपाल टेलिकमले मुगु र बाजुराका विकट क्षेत्रमा फोरजी सेवा विस्तार गरेको छ।

मुगुको सोरु गाउँपालिका-६ सोरुकोट र बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिका-१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना र नातीखोलालगायतका गुम्बासम्म अर्थात् बाजुराबाट रानिसैन पुग्ने पदमार्गमा कभरेज पुगेको छ। त्यसैगरी, कुवाडी खोलाको संगममा रहेका गाउँहरु तथा हुम्ला ताँजाकोट २ जाने मार्गमा समेत यसको कभरेज पुगेको टेलिकमले जनाएको छ।

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिनसक्ने भएका छन्। यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सो क्षेत्रका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend