काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागु गर्न लागिएको बताएका छन्।
बुधवार अर्थ समितिको बैठकमा उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागु गर्न लागिएको बताएका हुन्।
अध्यक्ष भट्टले नेपालमा सेयर बजार सधैँ बढिरहनुपर्ने भन्ने मान्यता रहेको उल्लेख गर्दै उनले कुनैपनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पार्नुभयो। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको उनको गुनासो छ।
उनले बोर्डको भुमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको बताए।
उनका अनुसार सर्ट सेलिङ प्रणाली लागु गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ। यो प्रणाली लागु भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर विक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिने व्यवस्था हुनेछ।
बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं सेयर किनेर मूल्य बढेपछि विक्री गरी नाफा लिन सक्नेछन्। अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे।
उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए।
अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए। हाल सम्पत्ति छानबिनलगायतका सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको उनको भनाइ छ।
सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने पनि उनले जानकारी दिए।
उनले नेपालको पुँजीबजार सुधारको लागी बोर्डले हालै ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजानिक गरिएको पनि जानकारी दिए। उनले आगामी आर्थिक वर्ष बोर्डले गर्ने कार्यको लागि आर्थिक वर्ष २०८३/०८४ को पुजीँबजार नीति पनि सार्वजानिक गरिएको बताए।
‘प्रि-आईपीओ नाममा अवैध कारोबार गर्ने कम्पनीमाथि कारबाही हुन्छ'
नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि-आईपीओ’का नाममा अवैध कारोबार गर्ने कम्पनीहरुमाथी कारबाही हुने बताएका छन्।
राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उनको भनाइ छ। अध्यक्ष भट्टले योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिए।
स्टार्टअपदेखि मध्यम तथा अन्य योग्य उद्योगलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको उनको भनाइ छ।
उनका अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्नेछ।
उनले सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि मूल्य निर्धारण प्रक्रियालाई पनि प्रतिस्पर्धात्मक र पारदर्शी बनाइने उनले बताए।
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाएर मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको उनले जानकारी दिए।
पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि विस्तार गर्ने तयारी पनि भइरहेको उनले बताए।
यस्तो छ उनको भनाइ -
अहिले हाम्रो बजारको नेचर के छ भने बजार घट्यो भने सबै चिन्तित हुन्छन्, बजार बढ्यो भने सबै खुशी हुन्छन्। बजार जहिले पनि बढिरहनु पर्छ भन्ने मान्यता छ। सबैले भन्छन् कि बजार बढ्नैपर्यो, बढ्नै पर्यो। तर एकचोटी बढ्यो धेरै भने पनि फेरि धितोपत्र बोर्डले के हेरिरहेको अनावश्यक रुपमा यसरी बढेको छ भन्ने प्रश्न पनि आउँछ। नेपालको कन्टेक्स्टमा भन्ने हो भने बजार बढी नै रहनुपर्ने छ, ३ हजारमा पुगेर पनि कोही खुसी हुनेवाला छैन, ३ हजार ५ सयमा पुगे पनि हुनेवाला छैन, ५ हजारमा पुगे पनि हुनेवाला छैन। यसको कुनै लिमिट छैन। बजार सधैँ बढिरहन त सक्दैन।
संसारको कुनै पनि इन्डेक्सहरु बढेकोबढ्यै गर्नेवाला छैनन्। तर नेपालमा ५ हजारमा पुगेर पनि यदि घट्यो भने धितोपत्र बोर्ड घेराउनै हुनेवाला छ, जो हिजो भयो। मैले हिजो सामना गरेर आएँ, मेरो जीवनमा पहिलोपटक घेराउको पनि सामना गरेर आएँ। नेपालको बजार किन हो त यो बढिरहनु पर्ने भन्दाखेरि यसको एउटै कारण छ कि बजारमा हामी लगानीकर्ताहरुले सेयर किन्छौँ। सेयर किन्यो, एउटा मूल्यमा र हामीलाई रिटर्न हुनको लागि सेयरको प्राइस बढ्नुपर्छ।
सेयरको प्राइस नबढिकन हाम्रो रिटर्न आउनेवाला छैन। सबैले रिटर्नको लागि इन्भेस्टमेन्ट गर्ने हो, इन्भेस्टमेन्टको रुल त्यही हो प्रतिफलकै लागि गर्ने हो र त्यो बढ्नै पर्छ। अब हामीले बजार जताततै जाओस् तर इन्भेस्टरहरुले रिटर्न लिने मेकानिजम बनाउँदैछौँ। त्यो भनेको के हो भने बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ। अब छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ।
जसमा कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण प्रयोग गर्छ। उसले अहिले बजारमा सेयर बरो गरेर बेचिदिन्छ, अरुसँग उधारोमा लिएर ऋण लिएर भनेजस्तो बरोइङ गर्छ, सेयर अहिलेको बेचिदिन्छ र उसको एक्सपेक्टेसन हुन्छ कि बजार भविष्यमा घट्छ, म घटेको बेलामा यो सेयर किनेर फिर्ता गरिदिन्छु।
अब उसलाई फाइदा हुन्छ, अहिले ५० रुपैयाँको सेयर बेचिदियो भनेपछि ३० रुपैयाँ भएको बेलामा किनेर फिर्ता गर्छु भन्न पायो। उसलाई २० रुपैयाँ फाइदा हुन्छ। कसैले बजार बढ्ने पो वाला छ भनेर उसले बजारमा अहिले ५० रुपैयाँमा सेयर किन्छ र ८० भएको बेलामा उसले बेचेर फाइदा कमाउँछ।
दुईवटै इन्भेस्टरहरु के हुन्छन् अब बाडिन्छन्। त्यसपछि यो लगानीकर्ता संघ भन्ने पनि हुँदैन। अहिलेसम्म एकै लाइनमा गइरहेको हुनाले बजार बढ्नै पर्ने बाध्यता भएको हो। सोही कारण पुँजीबजार लगानीकर्ता संघहरु भएर अनि हामीलाई घेराउ गर्छन्। बजार अहिले देखिएको यो समस्या हामी समाप्त गरिदिन्छौँ।
प्रि-आईपिओ’ को कुरा उठ्यो। कम्पनीहरुले आइपिओ आउनु अगाडि नै चलखेल गर्छन्, भन्ने। ‘प्रि-आईपिओ अवैध चिज हो। त्यस्तो चिजहरू हुनुहुँदैन। कहीँ पनि थाहा पाइयो भने हामी कारबाही गर्छौँ। त्यो कुनै हाम्रो वैधानिक पद्धतिअनुसार आएका पैसाहरू होइनन्।
कसैले चलखेल गरे भन्दैमा त्यस्तो चिजमा राज्य चुप लाग्न हुन्न। कुनै पनि योग्य कम्पनीहरूलाई हामीले आईपिओको लागी अनुमति दिने गरेका छौँ, कर्पोरेट सेक्टरमा हामीले तीन किसिमको मेकानिजम बनाएका छौँ। स्टार्टअपलाई पनि फाइनान्सिङ दिने प्रवृत्तिको लागि हामीले अहिले योजना ल्याएका छौँ।
अर्को साना र मध्यम टाइपका इन्डस्ट्रिजहरुलाई पनि क्यापिटल मार्केट एक्सेस होस्, कुनै पनि कर्पोरेटले पुँजी बजारबाट फन्डिङ पाओस् भन्ने विषयमा हामीले अहिले पूरा योजनाहरू ल्याएका छौँ। त्यसमध्ये स्टार्टअपहरू पनि पर्छन्। एसएमईको प्लेटफर्महरु पनि दिन्छौँ। आईपिओमा जाने कम्पनी भनेका त्यस्ता कम्पनीहरू हुनुपर्छ, जुन कम्पनी योग्य हुन्छन्।
सामान्य लगानीकर्ताले तिनीहरूमा लगानी गर्ने भएको हुनाले तिनीहरूलाई अझ स्ट्यान्डर्डहरु राखेर पारदर्शी बनाएर तिनीहरूले ल्याउने प्राइसहरूमा पनि पर्याप्त कम्पिटिसन गराउने हामीले योजना बनाएका छोँ। तेस्रो हामी उपकरणको पनि विविधीकरण गर्छौँ। सेयरमुखी बजार क्यापिटल मार्केटलाई अब ऋणपत्रमुखी बजारतिर जाने कोशिष गरिरहेका छौँ।