काठमाडौं- गएको जेठ महिनामा २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गएको बैशाख महिनमा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो।
गएको ११ महिनाको अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले वृद्धि भइ २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो।
११ महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५९ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३,६७,२११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,५५,७३५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,५२,३२४ र ३,०८,०६७ रहेको थियो।