काठमाडौं- राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठ) सम्ममा कुल ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार विकास बैंकहरूको यो नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३१.७८ प्रतिशतले बढेको हो। गत वर्षको सोही अवधिमा बैंकहरूले ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। गरिमा विकास बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको तुलनामा यो बैंकको नाफा ३३ प्रतिशतले बढेको छ। बैंकले चालु आर्थिक वर्षको जेठसम्म १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गर्न गरेको छ।
धेरै नाफा कमाउने सूचीमा दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा २०.२३ प्रतिशत बढेको छ। बैंकले नाफा १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा यसको नाफा १ अर्ब ५ करोड १७ लाख रुपैयाँ मात्र थियो।
तेस्रो स्थानमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको ७३ करोड ८८ लाख रुपैयाँको तुलनामा ३७.९८ प्रतिशतको वृद्धि हासिल गर्दै जेठ मसान्तसम्म १ अर्ब १ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अन्य विकास बैंकहरूको नाफा पनि सन्तोषजनक देखिएको छ। समीक्षा अवधिमा ज्योति विकास बैंकले ८१ करोड ६१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यसैगरी महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ नाफा कमाउँदा नाफा कमाएको छ। त्यसैगरी वृद्धिदरमा अगाडि रहेको लुम्बिनी विकास बैंकले ५२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।