काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी बीवाईडी अष्ट्रेलियामा ठूलो विवादमा तानिएको छ। बीवाईडीले अस्ट्रेलियामा २०२६ मोडलका भनेर बिक्री गरेका विद्युतीय र हाइब्रिड कार २०२५ मोडलको भएको पाइएपछि कम्पनी विवादमा तानिएको हो।
कम्पनीले बिक्री गरेका १ हजार २ सय ६५ वटा कारका ग्राहकलाई २०२६ मोडलका रूपमा बिक्री गरिएका गाडी २०२५ मै निर्माण पाइएको हो। उक्त खुलासासँगै विषय बाहिर आएपछि बीवाईडी अस्ट्रेलियाले कम्पनीबाट गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेको छ।
साथै प्रभावित ग्राहकलाई पूर्ण रकम फिर्ता गर्ने वा १ हजार १ सय अस्ट्रेलियन डलर बराबरको क्षतिपूर्ति दिने विकल्प पनि दिएको छ।
बीवाईडीले यसरी अस्ट्रेलियन उपभोक्तालाई २०२५ का गाडी २०२६ को भनि झुक्याएर बिक्री गरेको कुरा ११ जुलाई २०२६ मा सार्वजनिक भएपछि अष्ट्रेलियाको अटोमोबाइल बजारमा बहस गर्माएको छ।
सुरुमा बीवाईडीले प्रभावित ग्राहकलाई १ हजार १ सय अस्ट्रेलियन डलर क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो। तर धेरै ग्राहकले त्यसलाई पर्याप्त समाधानका रुपमा स्वीकार गर्न नसकिने बताएपछि बीवाईडी अस्ट्रेलियाले निर्णय परिमार्जन गर्दै इच्छुक ग्राहकलाई गाडीको मूल्य बराबर नै रकम फिर्ता दिने घोषणा गरेको एबीसी डटनेट डटएयूलगायत विभिन्न सञ्चार माध्यमले लेखेको छन्।
बीवाईडी अस्ट्रेलियाका जनसम्पर्क निर्देशक पल एलिसले यो घटना प्रशासनिक तथा मानवीय त्रुटिका कारण भएको दाबी गरेका छन्। उनका अनुसार कम्पनीले जानाजानी ग्राहकलाई भ्रममा पार्ने वा गलत जानकारी दिएर गाडी बिक्री गर्ने उद्देश्य नराखेको प्रष्टीकरण दिएका छन्। सो गल्ती अभिलेख व्यवस्थापन र कागजी प्रक्रियाबाट मात्रै हुन पुगेको दाबी बीवाईडी अस्ट्रेलियाले गरेको छ।
बीवाईडीका अनुसार विवादमा परेका सबै गाडी प्राविधिक रूपमा २०२६ मोडलसँग समान छन् तर मोडल इयर मात्र फरक परेको हो। गाडीमा भएका मोटर, ब्याट्री, सफ्टवेयर, सुरक्षा प्रणाली वा अन्य सबै विशेषता समान रहेको कम्पनीको भनाइ छ। बिक्री भएका ती १२ सय भन्दा बढी कारहरुको समस्या केवल बिक्रीसँग सम्बन्धित कागजातमा उल्लेख गरिएको उत्पादन वर्षमात्र फरक पर्न गएको जनाएको छ।
बीवाईडीले कागजमा मात्र उत्पादन वर्ष फकर पर्न गएको स्पष्टीकरणबाट अस्ट्रेलियामा बीवाईडीका कार किनेका सबै १२ सय ग्राहकलाई भने सन्तुष्ट बनाउन सकेन। धेरै ग्राहकले निर्माण वर्ष फरक हुँदा भविष्यमा गाडीको पुनर्बिक्री मूल्य घट्न सक्ने चिन्ता व्यक्त गरेका छन्। त्यति मात्र होइन कतिपय बीमा कम्पनीले पनि गाडीको मूल्यांकन गर्दा निर्माण वर्षलाई आधार बनाउने भएकाले बीमा प्रिमियम वा दाबी प्रक्रियामा समेत असर पर्न सक्ने चिन्ता ग्राहकहरुको छ।
उत्पादन वर्ष भन्नाले गाडी बनेको वर्षलाई जनाउँछ भने मोडल वर्ष भन्नाले कम्पनीले बजारका लागि निर्धारण गर्ने व्यावसायिक वर्षलाई बुझाउँछ। विश्वका धेरै बजारमा एउटै गाडी अर्को वर्षको मोडलका रूपमा बिक्री हुने अभ्यास रही आएको छ। तर बीवाईडी अस्ट्रेलियाको यो घटनामा विवाद मोडल वर्षमा भनइ बिक्री कागजातमा २०२६ को विवरण दिइएका गाडी वास्तवमा २०२५ मा उत्पादन भएको तथ्य पछि पुष्टि भएर त्यो उपभोक्ताले जानकारी पाउनु हो।
अटोमोबाइल उद्योगका विश्लेषकहरू गाडी खरिद गर्दा धेरै ग्राहकले मोडल, मूल्य र विशेषतामा ध्यान दिने गरे पनि निर्माण मिति र उत्पादन वर्ष जस्ता विवरण उत्तिकै महत्त्वका साथ हेर्नु पर्ने बताउँछन्।
विशेषगरी आफ्टरमा निर्माण वर्षले गाडीको मूल्य निर्धारणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्तो विषयलाई सामान्य रूपमा लिन नहुने उनीहरूको भनाइ छ। अस्ट्रेलियामा बीवाईडीले उत्पादन वर्ष झुक्याएर बिक्री गरेको घटना बाहिर आएसँगै यस बारेमा व्यापक बहस सुरु गरेको छ।
गाडी खरिदकर्ताले पाउने कागजातमा उल्लेख गरिएको विवरण वास्तविक उत्पादन विवरणसँग मेल खानुपर्ने अस्ट्रेलियाका उपभोक्ता अधिकारका जानकारहरूले बताएका छन्। यदि बिक्रीका क्रममा दिइएको जानकारी र वास्तविक विवरणबीच फरक देखिएमा त्यसले उपभोक्ता अधिकारसम्बन्धी कानूनी प्रश्नसमेत उठाउने धारणा उनीहरुको छ।
अस्ट्रेलियाको यो घटनाले बीवाईडीका कार बिक्री हुने चीन बाहेकका सबै बजारमा तरंग र बहस सुरु भएको छ। हाल विश्वभर तीव्र गतिमा विस्तार भइरहेको बीवाईडीका लागि यो घटना ग्राहकको विश्वाससँग जोडेर कम्पनीका लागि चुनौतीका रूपमा हेर्न थालिएको छ।
बीवाईडी अस्ट्रेलियाले प्रभावित सबै ग्राहकसँग व्यक्तिगत रूपमा सम्पर्क गरेर समाधान प्रक्रिया अघि बढाएको जनाएको छ। अस्ट्रेलिया सरकारले यस बारेमा थप अनुसन्धान गर्नुपर्ने बहससमेत त्यहाँ सुरु भएको छ।