काठमाडौं- अब बैंक तथा वित्तीय संस्थाका ग्राहकले बैंकमा उपस्थित नभइ मोबाइल वा वेब एप्लिकेसनमार्फत नै आफ्नो बैंक खाता बन्द गर्न सक्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था लागु गरेको हो। यससँगै खाता बन्द गर्न अनिवार्यरूपमा शाखा कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ।
निर्देशनअनुसार ग्राहकले शाखामा उपस्थित भएर वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत खाता बन्द गर्न अनुरोध गरेमा सम्बन्धित बैंकले उक्त खातामा रहेको मौज्दात ग्राहकले उल्लेख गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नै खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेका निष्क्रिय खाताको संख्या घटाउने उद्देश्यले यो व्यवस्था गरेको जनाएको छ।
नयाँ निर्देशनले निष्क्रिय खाता सक्रिय बनाउने प्रक्रियालाई समेत थप सहज बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।