काठमाडौं- नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्नो स्थापना भएको ४२ वर्ष पूरा गरेको छ। सन् १९८४ मा स्थापना भएको यो बैंक चार दशकभन्दा बढी समयदेखि नेपालको बैंकिङ क्षेत्रको विकास, निजी क्षेत्रको विस्तार र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
‘बैंकिङ एन्ड बियोन्ड’ भन्ने अवधारणालाई आफ्नो मूल दर्शन बनाएको नबिल बैंकले परम्परागत बैंकिङ सेवाभन्दा धेरै अगाडि बढेर प्रविधि, नवप्रवर्तन, वित्तीय समावेशिता, दिगो विकास र ग्राहक अनुभवलाई केन्द्रमा राख्दै आफूलाई नेपालको अग्रणी बैंकिङ ब्रान्डका रूपमा स्थापित गरेको छ। यो केवल एउटा नाराभन्दा पनि बैंकले पछिल्ला चार दशकमा अपनाएको रणनीति, कार्यसंस्कृति र भविष्यको मार्गचित्र हो।
आज नबिल बैंक जहाँ पुगेको छ, त्यसको आधार निक्षेपकर्ता र लगानीकर्ताले गरेको विश्वास, संस्थागत सुशासन, पारदर्शिता, प्रभावकारी जोखिम व्यवस्थापन, निरन्तर नवप्रवर्तन र ग्राहकप्रतिको प्रतिबद्धता हो। यही विश्वासले नबिललाई सरकारी बैंकदेखि निजी क्षेत्रका अन्य बैंकहरूमाझ अलग पहिचान बनाउँदै नेपालको सबैभन्दा विश्वसनीय बैंकिङ संस्थामध्ये एक बनाएको छ।
नेपालमा आधुनिक निजी बैंकिङ प्रणालीको अवधारणा भर्खरै सुरु हुँदै गर्दा सन् १९८४ मा नबिल बैंकको स्थापना भएको थियो। उद्यमी विनोद चौधरीले देखेको अन्तर्राष्ट्रिय स्तरको, आधुनिक र विश्वसनीय निजी बैंक निर्माण गर्ने सपना अहिले ४२ वर्षपछि सशक्त संस्थाका रूपमा मूर्त रूप लिएको छ। निजी बैंकिङको जग बसाल्ने संस्थाका रूपमा नबिलले नेपालमा बैंकिङ सेवाको स्वरूप नै परिवर्तन गर्ने भूमिका खेलेको मानिन्छ।
अर्थतन्त्रको मजबुत साझेदार
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नबिल बैंकको कर्जा लगानी ४६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने निक्षेप ५८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति ७१८ अर्ब ४३ करोड रुपैयाँ, खुद सम्पत्ति (नेटवर्थ) ७० अर्ब ८३ करोड रुपैयाँ तथा खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यी सूचकहरूले नबिललाई नेपालको सबैभन्दा बलियो पूँजी आधार भएका बैंकहरूमध्ये एकका रूपमा उभ्याएका छन्।
बैंकको कर्जा लगानी केवल व्यापारिक विस्तारमा सीमित छैन। यसले मुलुकको उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, सुक्ष्म, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ लगानी गरेर नबिलले आर्थिक वृद्धिका आधार क्षेत्रलाई वित्तीय साथ दिइरहेको छ।
कृषिमा गरिएको लगानीले खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाइरहेको छ भने ऊर्जा क्षेत्रमा गरिएको लगानीले जलविद्युत् र पूर्वाधार विकासलाई गति दिएको छ। एमएसएमई क्षेत्रमा प्रवाह गरिएको कर्जाले हजारौँ उद्यमीलाई व्यवसाय विस्तार र रोजगारी सिर्जनामा सहयोग पुर्याइरहेको छ भने पर्यटन क्षेत्रमा भएको लगानीले नेपालको सेवा अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ।
देशव्यापी पहुँच, लाखौँ ग्राहकको रोजाइ
चार दशकअघि दुई शाखाबाट सेवा सुरु गरेको नबिल बैंक आज देशभर फैलिएको विशाल बैंकिङ सञ्जालमा रूपान्तरण भइसकेको छ। हाल बैंकका २६४ शाखा, ३१५ एटीएम र १८ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्। यी सञ्जालमार्फत २६ लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेका छन् भने २ हजार ४६४ कर्मचारी बैंकको सेवा प्रवाहमा सक्रिय छन्।
शहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म वित्तीय पहुँच विस्तार गर्दै बैंकले वित्तीय समावेशितालाई संस्थागत प्राथमिकताका रूपमा अघि बढाएको छ। आधुनिक बैंकिङ सेवा देशका सबै भूगोलमा पुर्याउने अभियानमा नबिल अग्रपङ्क्तिमा देखिन्छ।
‘बैंकिङ एन्ड बियोन्ड’ : बैंकिङभन्दा धेरै अगाडिको सोच
‘बैंकिङ एन्ड बियोन्ड’को अर्थ केवल निक्षेप संकलन र कर्जा प्रवाहमा सीमित बैंकिङ सेवा होइन। यसले ग्राहकको सम्पूर्ण वित्तीय जीवनचक्रलाई सहज, सुरक्षित, डिजिटल र भविष्य उन्मुख बनाउने दर्शनलाई प्रतिनिधित्व गर्छ।
यस अवधारणाअन्तर्गत बैंकले डिजिटल बैंकिङ, वित्तीय समावेशिता, दिगो विकास, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा–आधारित सेवा, ग्राहक अनुभव र नवीन वित्तीय समाधानलाई एकीकृत रूपमा अघि बढाइरहेको छ। बदलिँदो प्रविधिसँगै बैंकिङ सेवालाई अझ सरल, छिटो र सुरक्षित बनाउने रणनीतिले नबिललाई डिजिटल रूपान्तरणको अग्रणी संस्थाका रूपमा स्थापित गरेको छ।
डिजिटल बैंकिङमा नयाँ अध्याय
सन् २०२२ डिसेम्बर २२ मा सञ्चालनमा आएको ‘एनबैंक’ नबिलको डिजिटल रूपान्तरणको महत्वपूर्ण उपलब्धि हो। पूर्ण डिजिटल बैंकिङ प्लेटफर्मका रूपमा विकसित यस एपलाई नेपालकै अग्रणी वित्तीय ‘सुपर एप’ बनाउने दीर्घकालीन लक्ष्य राखिएको छ।
एनबैंकमार्फत ग्राहकले शाखामा उपस्थित नभई बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न, कर्जाका लागि आवेदन दिन, क्यूआर तथा बिल भुक्तानी गर्न, विभिन्न वित्तीय सेवामा पहुँच लिन, किनमेल गर्न तथा अन्तर्राष्ट्रिय रकम पठाउन सक्छन्। वर्षको ३६५ दिन, २४सै घण्टा उपलब्ध यो प्लेटफर्मले बैंकिङलाई समय र स्थानको सीमाभन्दा बाहिर पुर्याएको छ। कृत्रिम बुद्धिमत्तामा आधारित सुविधाहरू थपिँदै जाँदा ग्राहक अनुभव अझ व्यक्तिगत, सहज र प्रभावकारी बन्दै गएको छ।
करोडबाट अर्बसम्मको प्रेरणादायी यात्रा
नबिल बैंकको ४२ वर्षे वित्तीय यात्रा आफैंमा नेपालको निजी बैंकिङ विकासको इतिहास हो। स्थापना भएको पहिलो वर्ष १४ करोड ६० लाख रुपैयाँ निक्षेप, १३ करोड ३० लाख रुपैयाँ कर्जा र २६ करोड ९० लाख रुपैयाँ कुल सम्पत्तिबाट यात्रा सुरु गरेको बैंक आज ५८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप, ४६४ अर्ब १० करोड रुपैयाँ कर्जा तथा ७१८ अर्ब ४३ करोड रुपैयाँ कुल सम्पत्ति भएको विशाल वित्तीय संस्थामा रूपान्तरण भएको छ।
त्यसैगरी २ करोड ८० लाख रुपैयाँ खुद सम्पत्तिबाट सुरु भएको बैंकको नेटवर्थ अहिले ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने पहिलो वर्षको १० लाख रुपैयाँ नाफा अहिले ६ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ। दुई शाखाबाट सुरु भएको यात्रा २६४ शाखा र १४४ कर्मचारीबाट २ हजार ४६४ कर्मचारीसम्म पुग्नु बैंकको निरन्तर विस्तार र संस्थागत क्षमताको प्रमाण हो।
सुशासन, पारदर्शिता र उत्कृष्टताको पहिचान
वित्तीय अनुशासन, पारदर्शिता र सुशासनलाई संस्थागत संस्कृतिका रूपमा विकास गरेको नबिल बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनेक सम्मान प्राप्त गरेको छ। बैंक आठ पटक सर्वाधिक करदाता सम्मानबाट विभूषित भइसकेको छ। त्यस्तै, वित्तीय प्रतिवेदनको गुणस्तर र पारदर्शिताका लागि ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ नौ पटक विजेता र एक पटक उपविजेता गरी १० पटक प्राप्त गरिसकेको छ।
बैंकिङ सेवा, डिजिटल नवप्रवर्तन, ग्राहक केन्द्रित सेवा, संस्थागत उत्कृष्टता तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूले नबिलको विश्वसनीयता थप सुदृढ बनाएका छन्।
अबको यात्रा
४२ वर्षको अनुभव, बलियो पूँजी आधार, अत्याधुनिक प्रविधि, लाखौँ ग्राहकको विश्वास र जिम्मेवार बैंकिङको दर्शनलाई साथ लिएर नबिल बैंक अब नेपालको आर्थिक रूपान्तरणको अर्को अध्याय लेख्ने तयारीमा छ।
दिगो विकास, हरित वित्त, डिजिटल नवप्रवर्तन, वित्तीय समावेशिता र उत्कृष्ट ग्राहक सेवामार्फत दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यसहित अघि बढिरहेको नबिल बैंक केवल एउटा बैंक होइन, नेपालको आर्थिक विकास यात्राको विश्वासिलो साझेदारका रूपमा स्थापित भइसकेको छ। ‘बैंकिङ एन्ड बियोन्ड’को यही दर्शनले आगामी वर्षहरूमा पनि नबिल बैंकलाई बैंकिङ सेवाभन्दा धेरै अगाडिको संस्थाका रूपमा चिनाइरहनेछ।