काठमाडौं- सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पहिलो विद्युतीय स्कुटर छिट्टै सार्वजनिक हुने भएको छ। शुक्रबार यात्री मोटरसाइकलले आफ्नो पेजमा पीटू परियोजनामा तयार भइरहेको प्रोजेक्टको टिजर सार्वजनिक गरेसँगै नेपालमै डिजाइन तथा उत्पादन भएको विद्युतीय स्कुटर छिट्टै बजारमा आउने देखिएको छ।
पूर्णत कभर गरेर सार्वजनिक भएको टिजरमा छोपिएको स्कुटर केही दिनअघि जिरीमा परीक्षण भइरहेको तस्बिरहरु पनि यात्री मोटरसाइकलले आफ्नो पेजमा सार्वजनिक गरेको थियो। सिप्रदी यात्रीले आफ्नो पेजमा पीटूको टिजर सार्वजनिक गर्दै स्कुटर तयार भएको र छिट्टै सो स्कुट बजारमा ल्याउने संकेत दिएको हो।
यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङले लगानी गर्ने सम्झौता गरेसँगै नयाँ प्रोजेक्ट अघि बढेको थियो। अब छिट्टै बजारमा ल्याउने गरी काम भइरहेको कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी गराएको छ।
सिप्रदी यात्रीले नयाँ स्कुटरको अनगिन्ति किलोमिटर परीक्षण, टिमको रातभरको मेहनत र चलिरहेको काममा सन्तुष्ट नभएर निरन्तर काम गर्ने समर्पित टोलीको कारण कम्पनी अब प्रि प्रोडक्सनमा प्रवेश गरेको जनाएको छ। सिप्रदी यात्रीको तयारीअनुसार आगामी भदौमा हुने नाडा अटो शो २०२६ मा पीटूको प्रोडक्सन मोडल प्रदर्शनीमा देख्न सकिनेछ।
काठमाडौं वरपरका डाँडाहरुमा परीक्षणमा बेलाबखत देखिएको यात्रीको पहिलो स्कुटरको तस्बिरहरू बाहिर आएका थिए। पहाडीदेखि तराई तथा अपदेखि डाउन हिलसम्म विभिन्न भूगोलमा ७ हजार किलोमिटरभन्दा बढी सिप्रदी यात्रीको पीटूको परीक्षण भइसकेको र १५ किलोमिटर भन्दा बढी परीक्षण गरेपछि उत्पादन बजारमा ल्याउने जनाएको छ।
उक्त विद्युतीय स्कुटर कति ब्याट्री क्षमताको कति किलोमिटर रेन्ज दिन्छ कति वटा अप्सनमा उपलब्ध हुन्छ लगायत विषयमा कम्पनीले केही बाहिर ल्याएको छैन। नाडा अटो शो २०२६ मा कम्पनीले यसबारेमा जानकारी गराउने अनुमान गरिएको छ।
यात्री मोटरसाइकलले सिप्रदीसँगको सहकार्यमा स्कुटर प्रोजेक्ट अघि बढाएको थियो। त्यसअघि यात्रीले दुई मोटरसाइकल नेपालमै डिजाइन तथा उत्पादन गरेर बिक्रीमा ल्याइसकेको थियो।
२ वर्षअघि स्टार्टप कम्पनी यात्रीसँगको सहकार्यमा सिप्रदीले नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने घोषणा गरेको थियो। त्यसका लागि दुई कम्पनीबीच वृहत छलफल तथा सहकार्यको सम्झौता भएको थियो। सोहीअनुसार यात्रीले मोटरसाइकलका साथै विद्युतीय स्कुटरको डिजाइन सुरु गरेको थियो।
यात्रीले विद्युतीय स्कुटर परीक्षण थालेसँगै उत्पादन प्लान्टको डिजाइन सकेर निर्माण पक्रिया थालिएको जनाएको छ। सिप्रदी यात्रीको मोटरसाइकल तथा स्कुटर उत्पादन प्लान्ट धादिङको गजुरीमा बनिरहेको छ।
२०७६ पुसमा नेपालमै डिजाइन तथा उत्पादन भएको यात्रीको विद्युतीय मोटरसारइकल सार्वजनिक भएको थियो। डिजाइनमा अब्बल रहेको युवाको समूहले बनाएको यात्रीको विद्युतीय मोटरसाइकल विभिन्न उतारचढावबीच चलिरहेको थियो। त्यहीबीचमा यात्रीले सिप्रदीसँग सहकार्यको घोषणा गरेको थियो।
नेपाली स्टार्टप कम्पनी यात्रीले गरेको डिजाइन र उत्पादन अब्बल भएको र उक्त ब्रान्डलाई प्रवर्द्धन गरेर नेपालमै विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्न सिप्रदी अग्रसर भएको थियो। यात्री मोटरसाइकल सन् २०१७ मा स्थापना भएको थियो। कम्पनीले नेपालमै डिजाइन भएर बनेको यात्रीको पहिलो मोटरसाइकल प्रोजेक्ट वान सार्वजनिक गरेको थियो।