चन्द्रपुर- यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन्। असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुंगो नहुँदा उनी निराश छन्।
धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ। खेतमा सिँचाइको सुविधा नहुँदा यहाँका भेगका बम्जनसहित सयौँ किसान आकाश हेर्न बाध्य छन्। गत वर्ष पनि समयमा वर्षा नहुँदा सिँचाइ अभावले धान रोप्न नपाउनुभएका बम्जनले यस वर्ष भने रोपाइँ गर्ने योजना बनाएका थिए। अहिले आकाशे पानीको भरमा बस्नु परिरहेकाले रोपाइँ अन्योल बनेको उनको भनाइ छ। 'रोपाइँका लागि आलीघारी जोतखन तयार छ तर पानीको व्यवस्था नहुँदा समस्या भइरहेको हो, खेत पूरै बाझै छन्', बम्जनले भने।
यस्तै समस्या र चिन्तामा छन् सोही गाउँका कुलदीप चौधरी। 'गत वर्ष सिँचाइ नहुँदा रोपाइँ नभएको खेत अहिले पनि बाँझै रहने चिन्ता छ। अहिलेसम्म पर्याप्त पानी परेको छैन, बीउ ब्याडमै सुकेका छन्। कहिले रोपाइँ गर्ने अन्योलमा छौँ', उनले भने। आकाशे पानीको भरमा बस्नुपर्ने, वैकल्पिक सिँचाइको व्यवस्था नहुनेलगायत कारणले खेत बाँझै हुन थालेकामा उनले चिन्ता व्यक्त गरे।
किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत यहाँका सयौँ किसानलाई गत वर्ष बाँझो बनेका खेत यस वर्ष पनि रोपाइँ नहुने हो कि भन्ने चिन्ता बढेको छ।
जिल्लामा करिब ३८ हजार ५०० हेक्टर जमिन धान रोप्न योग्य भए पनि हालसम्म छ हजार १६० हेक्टरमा मात्रै धान रोपाइँ भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी दिए। यतिबेलासम्म करिब ४५ देखि ५० प्रतिशत रोपाइँ हुनुपर्ने बताउँदै उनले प्रयाप्त वर्षा नहुँदा करिब १६ प्रतिशत रोपाइँ भाएको उल्लेख गरे।
बागमती सिँचाइ आयोजनाले रौतहटको करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाले करिब चार हजार ५०० हेक्टर जमिन सिँचित गर्दै आएको कार्यालय प्रमुख कुर्मीले जानकारी दिए। उनका अनुसार बागमती सिँचाइबाट चन्द्रपुर नगरपालिकाको आधा भूभाग, बृन्दावन, गुजरा, गढीमाई, माधवनारायण नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ।
त्यस्तै झाँझ आयोजनाअन्तर्गत गरुडा, माधवनारायण, गढीमाई नगरपालिका र यमुनामाई गाउँपालिकामा सिँचाइ पुगेको छ। स्यालो ट्युबवेलबाट २० प्रतिशत खेतीयोग्य जमिन सिञ्चित हुने कुर्मीले जानकारी दिए। स्यालो ट्यिुबेल तरकारीखेतीमा बढी प्रयोग हुने गरेको उनको भनाइ छ। उनका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत गण्डक नहरको पानी रौतहट भित्र्याउनसके चार वटा पालिकामा सिँचाइ पुग्ने छ।
उक्त नहर सरसफाइ गरेर पानी रौतहट ल्याउनसके यहाँका बौधीमाई, राजपुर, परोहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका खेत सिञ्चित हुने कार्यालय प्रमुख कुर्मीले उल्लेख गरे। उनका अनुसार बौधीमाई नगरपालिकाको बङ्कुलबाट दुर्गाभगवती गाउँपालिकाको बडहर्वासम्म गण्डक नहर विस्तार भए पनि लामो समयदेखि उक्त नहरमा पानी आउन सकेको छैन।
रौतहटको कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टरमा धान रोपिँदै आइएको उनले जानकारी दिए। कार्यालय प्रमुख कुर्मीका अनुसार गत वर्ष रौतहटमा करिब ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। मनसुन सक्रिय भइ निरन्तर वर्षा भए केही दिनभित्र रोपाइँले गति लिने उनले बताए। रासस