काठमाडौं- गणेश नेपालीको मृत्युबारे छानबिन गर्न सरकारले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए।
त्रिपुरेश्वरमा बिहीबार आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको हो। राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गर्दा असन्तुष्ट बनेका उनले आत्मदाह गरेका थिए।
गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन्। ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ। मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि। म आफ्नो देशको सेवा गर्न आएको हो’ उनले संसदमा भने।