काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ९१ दिनको अवधिका लागि उक्त रकम संकलन गर्न लागेको जानकारी दिएको हो।
यो निक्षेप संकलनका लागि आजै दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस उपकरणको निष्कासन पनि आजै हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी असोज २३ गते गरिनेछ।
यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।
बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन्। यसको ब्याजदर बोलकबोलकै माध्यमबाट बहुब्याजदर पद्धतिमा निर्धारण हुने बताइएको छ।
यसरी संकलन गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाए पनि वैधानिक तरलता अनुपात तथा तरलता अनुपात मा भने गणना गर्न पाउनेछन्।