शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सीजी फुड्सको आम्दानी ११.३५ अर्ब, इक्रा नेपालको 'ए वान' रेटिङ

शुक्रबार, असार २६ २०८३
सीजी फुड्सको आम्दानी ११.३५ अर्ब, इक्रा नेपालको 'ए वान' रेटिङ

विशेषगरी पिरो स्वादका चाउचाउ उत्पादन गर्ने नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूको तीव्र विस्तारले बजार प्रतिस्पर्धा बढाएको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौं- चौधरी समूहअन्तर्गत सञ्चालित सीजी फुड्स नेपाल लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा घटेको छ। यद्यपि कम्पनीको सुदृढ वित्तीय अवस्था, बलियो ब्रान्ड र कम ऋणभारलाई आधार मान्दै इक्रा नेपालले कम्पनीको अल्पकालीन कर्जा रेटिङ ‘ए वान’  पुनः यथावत् राखेको छ।

इक्रा नेपालले बुधबार सार्वजनिक गरेको रेटिङ प्रतिवेदनअनुसार कम्पनीको अल्पकालीन ९९ करोड ५५ लाख रुपैयाँ बराबरको कर्जा सुविधामा ‘ए वान’ रेटिङ पुनः पुष्टि गरिएको हो। यो रेटिङले कम्पनीको छोटो अवधिको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता अत्यन्त बलियो रहेको संकेत गर्छ।

प्रतिवेदनअनुसार कम्पनीको समेकित सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँ गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँको तुलनामा २.७२ प्रतिशत अर्थात् ३१ करोड ८० लाख रुपैयाँले कम हो।

सीजी फुड्स चौधरी समूहको सबैभन्दा पुरानो औद्योगिक एकाइमध्ये एक हो। कम्पनीले सन् १९८४ देखि ‘वाइवाइ’ ब्रान्डमार्फत इन्स्ट्यान्ट चाउचाउ उत्पादन गर्दै आएको छ। हाल कम्पनीले ‘रियो’, ‘क्विक्स’ लगायतका ब्रान्डअन्तर्गत पेय पदार्थ, स्न्याक्स र अन्य एफएमसीजी उत्पादन पनि बजारमा ल्याइरहेको छ। नयाँ प्रतिस्पर्धी ब्रान्डहरूको आगमन भए पनि ‘वाइवाइ’ अझै पनि नेपाली चाउचाउ बजारको अग्रणी ब्रान्डमध्ये रहेको इक्रा नेपालको निष्कर्ष छ।

रेटिङ प्रतिवेदनले कम्पनीको वित्तीय अवस्था अझै पनि मजबुत रहेको उल्लेख गरेको छ। आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको ऋण–पुँजी अनुपात करिब ०.२ गुणा मात्रै रहेको छ भने ब्याज तिर्ने क्षमता १५ गुणाभन्दा बढी रहेको छ। कार्यशील पुँजीको आवश्यकता पनि न्यून रहेको र नगद प्रवाह सन्तोषजनक भएकाले कम्पनीको तरलता अवस्था स्वस्थ रहेको इक्रानेपालले जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन ११.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६.३ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो। कम्पनीका अनुसार निर्यात बिक्रीको हिस्सा बढ्नु र गहुँको पिठोको मूल्य केही घट्नुले नाफा सुधारमा सहयोग पुगेको हो।

यद्यपि, इक्रा नेपालले कम्पनीका केही जोखिम पनि औँल्याएको छ। अन्तर्राष्ट्रिय बजारमा गहुँ, पाम तेलजस्ता कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको मजबुती तथा विदेशी विनिमय दरको प्रभावले उत्पादन लागत बढ्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०८१/८२ मा समेकित सञ्चालन नाफा मार्जिन १२.१ प्रतिशतबाट घटेर ६.६ प्रतिशतमा झरेको पनि प्रतिवेदनले देखाएको छ।

त्यस्तै, कम्पनीले निरन्तर उच्च दरमा लाभांश वितरण गरिरहेको विषयलाई पनि इक्रा नेपालले निगरानीयोग्य जोखिमका रूपमा उल्लेख गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले अघिल्लो वर्षको खुद नाफाको करिब ९२ प्रतिशत लाभांश वितरण गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो अनुपात १०० प्रतिशत पुगेको छ। आगामी दिनमा प्रस्तावित पुँजीगत लगानी (क्यापेक्स) सँगै उच्च लाभांश वितरण कायम रहेमा कम्पनीको तरलता र वित्तीय सूचकमा दबाब पर्न सक्ने इक्रा नेपालको भनाइ छ।

प्रतिस्पर्धा पनि कम्पनीका लागि अर्को चुनौतीका रूपमा रहेको छ। विशेषगरी पिरो स्वादका चाउचाउ उत्पादन गर्ने नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूको तीव्र विस्तारले बजार प्रतिस्पर्धा बढाएको प्रतिवेदनमा उल्लेख छ। साथै, आयात शुल्क तथा सरकारी नीतिमा हुने परिवर्तनले पनि कम्पनीको व्यवसायमा प्रभाव पार्न सक्ने इक्रा नेपालको विश्लेषण छ।

कम्पनीको सेयर स्वामित्वमा निर्वाण चौधरीको करिब ७६ प्रतिशत हिस्सा रहेको छ। अपोलो इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको करिब ४ प्रतिशत तथा राहुल चौधरीको ०.२ प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनी सन् २०२३ मा निजीबाट सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।

हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ९९ करोड ५५ लाख रुपैयाँ अल्पकालीन कर्जा सुविधा उपयोग गरिरहेको छ। इक्रा नेपालले कम्पनीको आगामी आम्दानी वृद्धि, नाफा कायम राख्ने क्षमता, उच्च लाभांश वितरणको नीति तथा विस्तार योजनाको वित्तीय प्रभावलाई आगामी रेटिङका प्रमुख आधारका रूपमा हेर्ने जनाएको छ।


प्रकाशित : शुक्रबार, असार २६ २०८३१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend