काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा हाल देखा परेका समस्याहरूको समाधान र लगानीकर्ताको गुनासो प्रति ध्यानाकर्षण भएको जनाएको छ।
धितोपत्र बोर्डले आगामी साता सम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रूपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लैजाने तयारी गरेको हो।
बोर्डद्वारा जारी विज्ञप्ति अनुसार अनुमति पत्र प्राप्त धितोपत्र व्यवसायी लगायत सम्बद्ध संस्थाहरूलाई बोर्डबाट मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजार सम्बन्धी विषयहरूमा दिइएका निर्देशन अनुरूपका कामकारबाहीहरू तोकिएको समयमा सम्पादन गराउन आवश्यक पहल भइरहेको छ।
थप स्वस्थ, सुरक्षित एवम् प्रभावकारी पुँजी बजारको वातावरण बनाउँदै धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, लगायतका अन्य नियमावलीहरू तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको बोर्डले जनाएको छ।
बोर्डले लगानीकर्ताहरूलाई कसैको पनि हल्ला, बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन र विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिई सुझबुझ पूर्वक लगानी सम्बन्धी निर्णय लिन समेत अनुरोध समेत गरेको छ।