लमजुङ- अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्यले तीव्र गति लिएको छ।
वित्तीय व्यवस्थापन सुनिश्चित भएपछि निर्धारित लक्ष्यतर्फ उन्मुख यस आयोजनाको हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन यस आयोजनामा सिभिल, हाइड्रो-मेकानिकल तथा इलेक्ट्रो-मेकानिकल तीनवटै क्षेत्रका कामहरू समानान्तर रूपमा सन्तोषजनक ढंगले अघि बढिरहेका छन्।
आयोजनाको इन्टेक तथा डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी) क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ भने डिसेन्डरको मुख्य संरचना निर्माणका लागि रातिको समयमा समेत कङ्क्रिट ढलान गरी कामलाई निरन्तरता दिइएको छ। यसका साथै पावरहाउस निर्माणका लागि आवश्यक उत्खनन कार्य तथा भू-संरचना अनुसार कटिङ र ढलान व्यवस्थापनको काम तीव्र पारिएको छ।
सिभिल निर्माणसँगै हाइड्रो-मेकानिकलतर्फ हेटौंडास्थित उत्पादन केन्द्रमा स्टिल संरचना, गेट र पाइप जस्ता उपकरणहरूको फेब्रिकेसन कार्य सुरु भइसकेको छ भने युरोप र भारतस्थित उत्पादन केन्द्रहरूमा इलेक्ट्रो-मेकानिकल उपकरणहरूको डिजाइन तथा उत्पादन प्रक्रिया अगाडि बढाइएको छ।
कुल ११ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेतृत्वमा ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण कर्जा यसअघि नै सुनिश्चित भइसकेको छ र बाँकी रकम कम्पनीले स्वपूँजी (इक्विटी) मार्फत व्यवस्थापन गरिरहेको छ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको यस आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर दूरीमा रहेको १३२ केभी उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनामा स्थानीय बासिन्दाको उत्साहजनक लगानी र सहभागिता रहेको तथा कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीस्वरूप आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।