काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिष होटेल ब्रान्ड भित्र्याउने क्रम तीव्र बन्दै गएको छ। स्थापित तथा नयाँ लगानीकर्ताले विश्वप्रसिद्ध होटल चेनसँग सहकार्य गरिरहेका बेला वाटफोर्ड होटेल म्यानेजमेन्ट प्रालिले पनि हङकङस्थित आर्गाइल होटेल समूहको फ्रेन्चाइज नेपालमा ल्याउने भएको छ।
कम्पनीले पोखराको बेगनास ताल क्षेत्रमा ‘वाटफोर्ड वेलनेस रिट्रिट’ सञ्चालन गर्ने तयारी गरेको हो। वेलनेस (आरोग्य) पर्यटनलाई लक्षित गरी निर्माण हुन लागेको यो रिसोर्टमा करिब १ अर्ब १४ करोड ९० लाख रुपैयाँ लगानी हुने भएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ७० करोड रुपैयाँ दीर्घकालीन र १ करोड ५० लाख रुपैयाँ अल्पकालीन बैंकिङ सुविधा गरी कुल ७१ करोड ५० लाख रुपैयाँ कर्जाका लागि क्रेडिट रेटिङ गराएको छ। कम्पनीको दीर्घकालीन बैंक सुविधालाई आईआरएन बीबी- तथा अल्पकालीन सुविधालाई आईआरएन ए४ रेटिङ प्रदान गरिएको छ।
इन्फोमेरिक्सका अनुसार परियोजनाले पोखरामा अन्तरराष्ट्रिय ब्रान्डअन्तर्गत लक्जरी बुटिक वेलनेस रिसोर्ट सञ्चालन गर्ने लक्ष्य राखेको छ। परियोजनाको वित्तीय प्रगति सन् २०२६ जनवरी २७ सम्म करिब ४८ प्रतिशत पुगेको छ। कुल लगानीमा ऋण र स्वपुँजीको अनुपात करिब ६०:४० रहने योजना छ।
हालसम्म प्रवर्द्धकहरूले ३० करोड रुपैयाँ चुक्ता पुँजी तथा ८ करोड ८६ लाख ४० हजार रुपैयाँ सेयर आवेदन रकमका रूपमा लगानी गरिसकेका छन्। यसले परियोजनाका लागि प्रतिबद्ध कुल स्वपुँजीको करिब ८७ प्रतिशत हिस्सा ओगटेको रेटिङ प्रतिवेदनमा उल्लेख छ।
सन् २०१९ अक्टोबर १ मा स्थापना भएको कम्पनी उद्योग विभागमा २०२३ सेप्टेम्बर ४ मा ठूलो उद्योगका रूपमा दर्ता भएको थियो। होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनीले बेगनास क्षेत्रमा ६४ कोठायुक्त अन्तर्राष्ट्रियस्तरको बुटिक वेलनेस रिसोर्ट निर्माण गरिरहेको छ।
रिसोर्टको व्यवस्थापन हङकङस्थित विश्वव्यापी आतिथ्य समूह आर्गाइल होटेल समूहसँगको फ्रेन्चाइज सम्झौतामार्फत हुनेछ। कम्पनीमा दिनेशकुमार कन्ठको ९७ प्रतिशत स्वामित्व रहेको छ।
इन्फोमेरिक्सका अनुसार कम्पनीका प्रमुख प्रवर्द्धक कन्ठसँग अन्तर्राष्ट्रिष होटल व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव छ। उनी हाल इन्टरकन्टिनेन्टल होटल्स ग्रुप अन्तर्गत महाप्रबन्धकका रूपमा कार्यरत छन्। चीनका होलिडे इन र क्राउन प्लाजा लगायतका होटलमा सञ्चालन तथा ‘प्रि-ओपनिङ’ चरणको अनुभव रहेकाले परियोजनाको कार्यान्वयन क्षमता बलियो हुने मूल्यांकन गरिएको छ।
बेगनास ताल क्षेत्रको शान्त प्राकृतिक वातावरण, पोखरा अन्तर्राष्ट्रिष विमानस्थलसँगको पहुँच तथा वेलनेस पर्यटनको सम्भावनाले रिसोर्टको माग बढ्ने अपेक्षा गरिएको रेटिङ प्रतिवेदनमा उल्लेख छ। अन्तरराष्ट्रिय ब्रान्डसँगको सहकार्यले सञ्चालन मापदण्ड, बजार विश्वसनीयता र अन्तरराष्ट्रिय ग्राहक आकर्षित गर्न सहयोग पुग्ने विश्वास पनि गरिएको छ।
यद्यपि इन्फोमेरिक्सले परियोजनामा केही जोखिमसमेत औँल्याएको छ। निर्माण कार्य अझै मध्यम चरणमा रहेकाले समयमै सम्पन्न गर्नुपर्ने चुनौती, कर्जा पुनःवित्तीयकरण (रिफाइनान्सिङ) र थप वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता तथा नेपालको होटल उद्योगमा बढ्दो प्रतिस्पर्धालाई प्रमुख जोखिमका रूपमा उल्लेख गरिएको छ।
कम्पनीले हाल स्वीकृत ४० करोड रुपैयाँ कर्जालाई अर्को बैंकबाट ७० करोड रुपैयाँमा पुनःवित्तीयकरण गर्ने योजना बनाएको छ। त्यसैले समयमै वित्तीय व्यवस्थापन हुन नसके परियोजनामा दबाब पर्न सक्ने रेटिङ एजेन्सीको भनाइ छ। परियोजनाको व्यावसायिक सञ्चालन सन् २०२७ जुलाई १७ देखि गर्ने लक्ष्य राखिएको छ।
यसैबीच सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले हालै वेलनेस पर्यटनसम्बन्धी नीति सार्वजनिक गरेको छ। साथै अप्रिल १५ लाई अन्तर्राष्ट्रिष आरोग्य (वेलनेस) दिवसका रूपमा मनाउने घोषणा गर्दै नेपालले पहिलोपटक उक्त दिवससमेत मनाइसकेको छ।