बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लयमा फर्किँदै नवलपुर क्षेत्रका होटल व्यवसाय

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २४ २०८३
लयमा फर्किँदै नवलपुर क्षेत्रका होटल व्यवसाय

सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। यसले राजमार्ग लक्षित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्।

त्रिवेणी- निर्माणाधीन नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन्।

सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। यसले राजमार्ग लक्षित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्।

अहिले सडक कालोपत्र भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरूमा पुनः चहलपहल बढ्न थालेको उनीहरूले जनाएका  छन्।

नवलपुर होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सन्तोष रानाका अनुसार सडक विस्तार सुरु भएपछि करिब पाँच–छ वर्षसम्म राजमार्ग आसपासका होटल व्यवसाय अत्यन्तै प्रभावित बने। धुलो र अव्यवस्थित सडकका कारण यात्रुहरू अप्ठ्यारो खण्ड पार गरेपछि मात्र खाना खाने वा विश्राम गर्ने मनस्थितिमा रहने भएकाले होटलहरूको व्यापार उल्लेख्य रूपमा घटेको उनले बताए।

नवलपुर होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभर करिब एक हजार १ सय होटल तथा पर्यटनसम्बन्धी व्यवसाय सञ्चालनमा छन्। तीमध्ये धेरैजसो राजमार्ग निर्माणका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए। अब सडक सहज बनेसँगै व्यवसायमा क्रमशः सुधार आउने विश्वास व्यवसायीहरूले गरेका छन्।

नवलपुरको राजमार्ग क्षेत्रअन्तर्गत थुम्सी, दुम्किबास, दाउन्नेलगायतका स्थानहरू यात्रुका लागि प्रमुख विश्राम तथा खानाका केन्द्रका रूपमा परिचित छन्। सडक विस्तारका कारण लामो समय सुनसान बनेका यी क्षेत्रका होटलहरूमा अहिले फेरि यात्रु रोकिन थालेको व्यवसायीले बताएका छन्।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुर खण्डमा कालोपत्र र ढलानको काम सम्पन्न भइसकेको छ भने अहिले सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङ तथा अन्य सहायक पूर्वाधार निर्माणका काम भइरहेका छन्।

विगतमा धुलो, जाम र जोखिमपूर्ण यात्राका कारण आलोचित बनेको यो सडक अहिले क्रमशः सहज र सुरक्षित बन्दै गएको छ। सडक पूर्वाधारमा आएको सुधारसँगै होटल, पर्यटन, यातायात तथा स्थानीय व्यापार-व्यवसायमा नयाँ उत्साह थपिएको छ। व्यवसायीका अनुसार सहज सडकले पर्यटकको आगमन बढाउनुका साथै जिल्लाको समग्र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने विश्वास गरिएको छ। रासस


प्रकाशित : बुधबार, असार २४ २०८३१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend