कालीकोट- यहाँको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ। शनिबार महावै-७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो।
लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ। नयाँ भवन ३२ कोठासहित साढे दुई तलाको हुने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले जानकारी दिए।
इन्जिनियर शाहीका अनुसार सङ्घीय र स्थानीय सरकारको संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको हो। सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको ६० प्रतिशत र महावै गाउँपालिकाको ४० प्रतिशत लगानी रहने उनले जानकारी दिए।
प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री बन्ने गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह विश्वास व्यक्त गरे।
भवन सम्पन्न भएपछि यहाँका नागरिकले एकै स्थानबाट झन्झटरहित स्थानीय सरकारको सेवा पाउने गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताए। उनले विगतमा आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएकामा अब सहज हुने विश्वास व्यक्त गरे।