आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

बजेट कार्यान्वयनका लागि प्रतिबद्ध प्रशासनिक टिम बनाउँदै अर्थमन्त्री

आइतबार, असार १४ २०८३
बजेट कार्यान्वयनका लागि प्रतिबद्ध प्रशासनिक टिम बनाउँदै अर्थमन्त्री

आन्तरिक राजस्व विभागको महानिर्देशक नै अहिले कायममुकायममा निर्भर छ। विभागसँगै अन्य कर कार्यालयका प्रमुखदेखि भन्सारसम्मका प्रशासकीय नेतृत्व पनि त्यसैगरी छनौट गर्ने तयारी छ।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदबाट बजेट पारित भएसँगै कार्यान्वयनका लागि प्रतिबद्ध टिम बनाउने तयारी गरेका छन्। नयाँ आर्थिक वर्षसँगै बजेटले लिएका नीतिको कार्यान्वयनका लागि प्रतिबद्ध टिम बनाउन आन्तरिक गृहकार्य सुरू गरिसकेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सकिएसँगै अब बजेट पारित र त्यसलगत्तै कार्यान्वयनका लागि खट्ने खालको प्रशासनिक टिम बनाउनेबारेमा अर्थमन्त्री वाग्लेले गृहकार्य अघि बढाएका हुन्।

बजेट निर्माणदेखि सक्रिय रहेको अहिलेको समूहलाई फिल्टर गरेर मन्त्रीले नयाँ टिम बनाउने तयारी गरेका हुन्। 

कम्तीमा एक वर्षका लागि मन्त्रालयमै रहनेखालको टिम बनाउने मन्त्री वाग्लेको चाहना छ। बीचमै बढुवा भएर जाने सहसचिवलाई सकेसम्म नराख्ने उनको तयारी छ। ‘एक वर्षका लागि प्रतिबद्ध भएर काम गर्ने टिम चाहिन्छ विभागदेखि मन्त्रालयसम्मको कम्तीमा प्रशासनिक तथा विभागीय नेतृत्व त्यसरी राख्ने तयारी भइरहेको छ’ मन्त्रीनिकट स्रोतले भन्यो। 

आन्तरिक राजस्व विभागको महानिर्देशक नै अहिले कायममुकायममा निर्भर छ। विभागसँगै अन्य कर कार्यालयका प्रमुखदेखि भन्सारसम्मका प्रशासकीय नेतृत्व पनि त्यसैगरी छनौट गर्ने तयारी छ। 

बजेट पारितलगत्तै टिम बनाउने तयारी भएपनि निजामती ऐनमा हुने सम्भावित संशोधनले असर गर्ने देखिएको छ। निजमती ऐनलाई अध्यादेशका रुपमा ल्याउने तयारी सरकारको छ। त्यो अध्यादेशले धेरै कर्मचारीलाई अवकाशमा जान बाध्य पार्ने र कतिपयले राजीनामा दिने सम्भावना पनि भएकाले टिम बनाउने काम केही समय पर धकेलिने सम्भावना पनि छ। 

‘अध्यादेश आएर सबै फिल्टर भएपछि प्रतिबद्ध टिम बनाउने पनि हुनसक्छ’ मन्त्रीनिकट स्रोतले भन्यो। 

अर्थसचिव घनश्याम उपाध्याय मुख्यसचिवको दौडमा रहेका छन्। यदि त्यस्तो नभए उनी अर्थबाट बाहिरिन खोजेका छन्। त्यस्तै अन्य केही सहसचिव बढुवाको मुखमा भएका कारण अर्थमन्त्रीको चाहनाअनुसारको टिममा फिट नहुने सम्भावना छ। त्यस्तै कतिपयको कामबाट भने मन्त्री सन्तुष्ट छैनन्। 


प्रकाशित : आइतबार, असार १४ २०८३११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend