काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्धअघिकै तहमा झरे पनि नेपाली उपभोक्ताले भने त्यसको प्रत्यक्ष लाभ तत्काल पाउने अवस्था छैन। पश्चिम एसियामा अमेरिका-इरानबीचको तनाव मत्थर भएसँगै विश्व बजारमा तेलको आपूर्ति सहज बनेको र कच्चा तेलको मूल्य लगातार घटिरहेको छ। तर नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाउने नयाँ खरिद मूल्यका आधारमा मात्रै समायोजन हुने भएकाले तत्काल मूल्य घट्ने सम्भावना नरहेको हो।
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो हुँदैमा नेपालमा भोलिपल्टै पेट्रोल र डिजेलको मूल्य घट्दैन। नेपालले भारतको आईओसीबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनभन्दा आईओसीले पठाउने नयाँ मूल्यसूची नै निर्णायक हुने गर्छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ गतेदेखि लागु हुने गरी मूल्यसूची पठाउने व्यवस्था छ। त्यसैले आगामी ३० तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा मात्रै नेपालमा इन्धनको मूल्य घट्ने वा यथावत् रहने निर्णय हुनेछ। यदि आईओसीले घटेको मूल्यमा इन्धन उपलब्ध गरायो भने निगम सञ्चालक समितिले सोहीअनुसार मूल्य समायोजन गर्ने उनले बताए।
निगमका अनुसार मूल्य समायोजनमा अर्को महत्वपूर्ण पक्ष एलपी ग्यासको ठूलो घाटा पनि हो। हाल खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर करिब एक हजार १७४ रुपैयाँ घाटा रहेको निगमको दाबी छ। अहिले २ हजार १६० रुपैयाँमा बिक्री भइरहेको ग्यासको वास्तविक लागत करिब ३ हजार ४०० रुपैयाँ पुग्ने भएकाले पेट्रोल र डिजेलबाट हुने सीमित नाफाले ग्यासको घाटा धान्नुपर्ने अवस्था छ। यही कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दैमा खुद्रा मूल्य तत्काल घटाउन सहज नहुने निगमको तर्क छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तिए पनि प्रशोधित इन्धनको मूल्य त्यही अनुपातमा नघट्नुको अर्को कारण विश्वभरका केही रिफाइनरीमा देखिएको उत्पादन समस्या पनि हो। विशेषगरी डिजेलको माग उच्च रहेकाले कच्चा तेलको मूल्य घटेको अनुपातमा डिजेल र अन्य प्रशोधित इन्धनको मूल्य घट्न नसकेको निगमले जनाएको छ। नेपालले कच्चा तेल नभइ प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले कच्चा तेलको मूल्य घटेको प्रभाव प्रत्यक्ष रूपमा नेपाली बजारमा नदेखिने अवस्था रहेको निगमको भनाइ छ।
निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य निर्धारण गर्दा आईओसीलाई तिर्नुपर्ने खरिद मूल्य, सरकारलाई बुझाउनुपर्ने कर तथा राजस्व, ढुवानी खर्च, सञ्चालन खर्च, बिक्रेताको कमिसन तथा निगमको समग्र वित्तीय अवस्थालाई समेत आधार बनाउने गरेको जनाएको छ।
हाल देशभर दैनिक दुई हजारदेखि दुई हजार पाँच सय किलोलिटर पेट्रोल तथा चार हजारदेखि चार हजार पाँच सय किलोलिटर डिजेल खपत हुने गरेको निगमको तथ्यांक छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब ७०० देखि ७५० किलोलिटर पेट्रोल र करिब ७०० किलोलिटर डिजेल बिक्री हुने गरेको छ।
अहिले पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै डिजेल तथा मट्टितेल पहिलो वर्गमा २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ प्रतिलिटर कायम छ।
यसबीच अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। अमेरिका-इरानबीच तनाव कम हुनु, इरानी तेलको आपूर्ति बढ्नु तथा स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल ढुवानी सामान्य बन्दै गएपछि विश्व बजारमा ग्लोबल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य पुनः करिब ७२ डलर प्रतिव्यारेलमा झरेको छ।
यद्यपि नेपाली उपभोक्ताका लागि राहत भने आईओसीको आगामी मूल्यसूचीपछि मात्रै सम्भव हुने देखिएको छ। यही जुन ३० तारिखमा भारतबाट नयाँ खरिद मूल्य प्राप्त भएपछि अन्तर्राष्ट्रिय बजारको गिरावट त्यसमा प्रतिबिम्बित भएमा नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल तथा अन्य पेट्रोलियम पदार्थको मूल्य पुनरावलोकन गर्ने सम्भावना रहेको छ। अहिलेका लागि भने उपभोक्ताको नजर विश्व बजारको मूल्यभन्दा बढी आईओसीले पठाउने नयाँ मूल्यसूचीमा केन्द्रित भएको छ।