सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ८ २०८३
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड रुपैयाँ

पर्वत- कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

पर्वत- कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतबार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन लक्ष्यलाई आधार बनाएर पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३ दशमलब २५ प्रतिशत र पुँजीगततर्फ ४६ दशमलब ७५ प्रतिशत रकम विनियोजन गरिएको छ।

बजेट कार्यान्वयनका लागि सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा मौज्दात रकमलाई स्रोतका रूपमा अनुमान गरिएको उपप्रमुख रिजालले जानकारी दिइन्।

नगरसभाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधारतर्फ निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न दुई करोड विनियोजन गरेको छ।

वडा तहका सडक, खानेपानी तथा सिँचाइ आयोजनाका लागि  सात करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। वडा नम्बर ९ मा सञ्चालन हुने ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कटुवाचौपारी–मल्याङ्दीखोला लिफ्ट खानेपानी आयोजनाका लागि  एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

कृषि उत्पादन वृद्धि तथा खाद्य सुरक्षालाई प्राथमिकता दिँदै कृषि यान्त्रीकरण र प्लाष्टिक टनेल विस्तार कार्यक्रमका लागि रु एक करोड ४५ लाख विनियोजन गरेको छ।

शिक्षा क्षेत्रतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न १५ लाख, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न  १३ लाख ८१ हजार तथा दिवा खाजा कार्यक्रमका लागि ७३ लाख १ हजार रुपैयाँ बजेट छुट्याइएको छ।

यसैगरी पर्यटन प्रवर्द्धनका लागि गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्द्धन केन्द्रमा  ९० लाख तथा लक्ष्मीनारायण मन्दिर (शालग्राम आश्रम) का लागि  १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख रिजालले जानकारी दिइन्।

विपद् व्यवस्थापनका लागि  ४० लाख तथा फोहोरमैला व्यवस्थापनका लागि  ३० लाख रुपैयाँ छुट्याइएको छ। साथै स्थानीय सरकारको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउन आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले रु ८९ करोड ९७ लाख ४० हजार बजेट कार्यान्वयन गरिरहेको छ। असार ५ गतेसम्म  ५५ करोड ८२ लाख ३६ हजार खर्च भई ६१.७४ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाको तथ्यांक छ।

उपप्रमुख रिजालले बजेटले नगरवासीको विकास आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पूर्वाधार, उत्पादन, रोजगारी, शिक्षा र सामाजिक विकासमार्फत समृद्ध तथा सुन्दर कुश्मा निर्माणमा टेवा पुग्ने बताए।यस अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख रामचन्द्र जोशीले प्रस्तुत गरेका थिए।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा नगरभित्र सडक, खानेपानी, सुशासन पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण र पर्यटनलाई मुख्य जोड दिइएको छ।

सबैभन्दा बढी जोड संस्थागत सुदृढीकरण, डिजिटल प्रशासन र पूर्वाधार विकासमा दिइएको छ भने आर्थिक समृद्धिको माध्यमका रूपमा कृषि र पर्यटनलाई अगाडि सारिएको छ।

जिल्लाका सात स्थानीय तहमध्ये पहिलोपटक कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो।रासस


प्रकाशित : सोमबार, असार ८ २०८३१५:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend