आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार ६ २०८३
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
फाइल तस्बिर

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित ‘नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम’मार्फत उखु र बेसारखेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए।

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो। सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। 

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित ‘नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम’मार्फत उखु र बेसारखेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए।

अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि, बीउबिजन, कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ। 'कृषि उत्पादन बढेमा किसानको आम्दानी स्वतः बढ्छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ', उनले भने, 'त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नवप्रवर्तन कार्यक्रममार्फत लगानी गरिरहेका छौँ।'

गाउँपालिकाका कृषि प्राविधिक मनोज चापागाईँका अनुसार उखु र बेसारखेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ। उखुखेती गर्ने किसानलाई उन्नत जातको बीउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ। त्यस्तै उखुखेती हुने क्षेत्रमा सिँचाइको सुविधा विस्तार गर्न साना सिँचाइ आयोजनाअन्तर्गत डिप बोरिङ निर्माणसमेत गरिएको उनले बताए।

बेसारखेती गर्ने किसानका लागि भने बीउ, प्रांगारिक मल, सुरक्षा सामग्री तथा प्राविधिक परामर्श उपलब्ध गराउने  गरिएको छ। मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत करिब एक करोड ५० लाख रुपैयाँ लगानी गरी उखु र बेसारखेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईँले जानकारी दिए। उनका अनुसार बेसारखेती गर्ने आठ वटा कृषक समूहलाई ३० टन बेसारको बीउ उपलब्ध गराइएको छ।

यस क्षेत्रमा बेसार उत्पादनको सम्भावना राम्रो रहेको, सिँचाइको आवश्यकता कम पर्ने तथा बजार व्यवस्थापन अपेक्षाकृत सहज भएकाले बेसारखेतीलाई विशेष प्राथमिकता दिइएको कृषि प्राविधिक चापागाईँले बताए। उत्पादन बढेसँगै स्थानीय किसानले राम्रो आम्दानी लिन सक्ने विश्वास गाउँपालिकाको छ।

उखु उत्पादनका लागि गाउँपालिकाको  वडा नम्बर ६  र ७ उपयुक्त क्षेत्र भएकाले सोहीअनुसार कार्य गरिएको छ। बेसारखेतीका लागि वडा नम्बर १, २, ३ र ४ लाई  विशेष प्राथमिकता दिएर काम गरिएको कृषि प्राविधिक चापागाईँले बताए। 

कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्न गाउँपालिकाले कृषक समूहलाई ट्याक्टर, रोटाभेटर, कल्टीभेटर र ट्रलीलगायत कृषि उपकरण हस्तान्तरण गरेको छ। पचास प्रतिशत अनुदानमा दुई वटा कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको छ भने जैविक मल उत्पादन गरिरहेको विनयी सामुदायिक वनसँगको साझेदारीमा मल उत्पादन र ढुवानीलाई सहज बनाउन एउटा ट्याक्टरसहित आवश्यक सामग्री प्रदान गरिएको छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र आयमुखी बनाउने लक्ष्यका साथ आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने कृषि प्राविधिक चापागाईँले बताए। स्थानीय किसानलाई उत्पादन वृद्धि, बजार पहुँच र कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने दिशामा गाउँपालिका सक्रिय रूपमा लागिपरेको उनको भनाइ छ। 'मुख्य गरी कृषि उत्पादन बढाउने र त्यसबाट स्थानीय समुदायको आयआर्जन  वृद्धि गराउने लक्ष्य हाम्रो हो, सोहीअनुसार काम गरिरहेका छौँ', कृषि प्राविधिक चापागाईँले भने। रासस 


प्रकाशित : शनिबार, असार ६ २०८३१५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend