शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रक्षा प्रविधिकै जस्तो एआईमा गेटकिपिङ गर्दै अमेरिका, सहयात्री मुलुक नै शरणमा पुग्नुपर्ने हुनसक्छ

शनिबार, असार ६ २०८३
रक्षा प्रविधिकै जस्तो एआईमा गेटकिपिङ गर्दै अमेरिका, सहयात्री मुलुक नै शरणमा पुग्नुपर्ने हुनसक्छ

आविष्कार र व्यापारिक युनिकनेसलाई बार्गेनिङ शक्ति बनाउने अमेरिका निकट साझेदारप्रति पनि निर्मम हुँदै आएको छ। ठिक यसैगरी एआई पनि हुने देखिन्छ। एआईमाथिको गेटकिपिङबाट आगामी केही वर्ष बाँकी विश्वमाथिको वर्चस्वलाई निरन्तरता दिने अमेरिकी रणनीति रहेको धेरैको अुनमान छ।

काठमाडौं- ‘युद्ध अमेरिकाका लागि सँधै नाफाको इभेन्ट हो’  भनेर धेरै टिप्पणिकारले भनिरहेका हुन्छन्। अर्थात् संसारभर जति धेरै युद्ध त्यति धेरै हतियारको व्यापार जति धेरै हतियारको व्यापार त्यसको मुख्य प्रविधि अमेरिकासँगै भएका कारणले अन्तिम लाभांस अमेरिकामै पुग्ने।

त्यही भएर अमेरिकाका लागि कुनै पनि युद्ध लाभदायक हुन्छ भन्दै आइएको छ। तर हालैमात्र इरानसँगको सम्झौतापछि भने के अमेरिकालाई यो युद्धबाट लाभ भयो? भनेर प्रश्न उठ्दै आएका छन्। यसको तथ्यभन्दा पनि तर्कमा बहस भइरहेको छ। तर कुरा जे भएपनि युद्ध चाहिने रक्षा प्रविधिमा एकल पकड राख्दै आएको छ।

अमेरिकाले रक्षा प्रविधि यति धेरै पकड राख्नुका पछाडि उसको अनुसन्धान र विकास प्रणाली तथा लामो समयदेखिको गेटकिपिङ हो। अर्थात् आफ्ना निकट साझेदारलाई पनि उन्नत प्रविधिमा कहिलै पहुँच नदिने। सन् १९७० को दशकमा बेलायतलाई आणविक कार्यक्रमको सहयोग रोकेको होस या त्यसपछिको उन्नत क्रिप्टोग्राफीमा गरिएको गेटकिपिङ।

यी सबै पहलका कारण अमेरिकासँग उन्नत प्रविधिको एकल पकड सँधै कायम रहँदै आएको छ। त्यही भएर अहिले पनि अमेरिकन साझेदारहरूले पनि एफ-२२ विमानमा पहुँच पाउँदैनन्। यो अमेरिका आफैलेमात्र राख्छ भने साझेदारहरूले एफ-३५ मात्र पाउँदै आएका छन्। 

प्रत्येक आविष्कारमाथि गेटकिपिङ गर्ने चिनियाँ मोडल भएपनि अमेरिकाले भने सीमित सामरिक क्षेत्रमा यस्तो नीति लिंदै आएको थियो तर पछिल्लो समय भने आम उपभोग्य मानिएको प्रविधिलाई पनि गेटकिपिङ गर्न थालेको छ। 

हालैमात्र एन्थ्रोपिकले विकास गरेका दुई एआई मोडलमाथि अमेरिकाले अमेरिका बाहिर पहुँचमा रोक लगाउने आदेश दिइसकेको छ। उक्त कम्पनीले विकास गरेको नयाँ र सबैभन्दा फ्रन्टियर एआई मोडल फेबल र मिथोसको प्रयोगमा विदेशीहरूलाई प्रतिबन्ध लगाउन आदेश दिएपछि अमेरिकाले पनि प्रविधिमा गेटकिपिङ गर्न थालेको सन्देश गएको छ।  संसारकै सबैभन्दा उन्नत प्रविधि कसले प्रयोग गर्न पाउने वा नपाउने भन्ने कुराको नियन्त्रण वैज्ञानिक र कम्पनी होइन कि अमेरिकी राष्ट्रपति कार्यालयसँग हुने भएको छ। 

इरानसँगको सम्झौताबाट कमजोर भएको भनिएको अमेरिका यो प्रकरणले भविष्यमा झन् शक्तिशाली हुने शंकेत देखिएको छ। एन्थ्रोपिकले विकास गरेका यी मोडलबाट जैविक हतियार, कम्प्युटर ह्याक र साइबर हमला गर्नबाट रोक्ने अहिलेसम्मका उपकरणलाई ब्रेक गर्ने प्रम्प्टलाई पनि स्वीकार गर्ने अवस्था रहेको भन्दै अमेरिकाले आम सर्वसाधारणमै प्रतिबन्ध लगाउन खोजेको थियो। तर पनि यो विदेशीलाई रोक लगाउने भन्नेमै सीमित भएको छ। 

अमेरिका बाहिर ८० प्रतिशत प्रयोगकर्ता भएको यो कम्पनीको उन्नत प्रविधिमा लगाइएको प्रतिबन्ध धेरै लामो हुने देखिन्न। तर पनि अमेरिकाको यो आदेशले भविष्यमा अरु धेरै प्रविधिका बारेमा शंका गर्ने ठाउँ दिएको छ। महत्त्वपूर्ण कुरा के हो भने, उत्कृष्ट एआईमा विश्वव्यापी पहुँच हुनु वा नहुनु  अमेरिकी राष्ट्रपतिको कार्यालयको एउटा निर्णयमा भर पर्नसक्छ भन्ने। 

अमेरिकाले यो विशाल नयाँ शक्ति कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्नुपर्छ। बाँकी विश्वले यसको बारेमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ। रक्षादेखि व्यापारसम्मका हरेक कुरामा एउटा भरोसा गर्न नसकिने अमेरिकाका लागि योजना बनाइरहँदा पनि, अब विश्वले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रको बन्धक बन्ने यो नयाँ जोखिमको सामना गर्नुपर्ने भएको छ। 

लिथो मेसिन र ताइवानको फ्याबमा हुने निर्भरता बाहेक अमेरिकाका लागि कम्प्युटिङमा धेरै निर्भरता छैन। अहिलेको युरोपको तुलनामा १५ गुणा धेरै कम्प्युटिङ क्षमता लिएर हिडेको अमेरिका एआईमा कसैले भेट्न नसक्नेगरी एक नम्बरमै कायम छ। अझ एन्थ्रोपिक जस्ता कम्पनीले विकास गर्ने यस्ता मोडलले अमेरिकाको बार्गेनिङ क्षमता झन् बढाउनेछ। 

आविष्कार र व्यापारिक युनिकनेसलाई बार्गेनिङ शक्ति बनाउने अमेरिका निकट साझेदारप्रति पनि निर्मम हुँदै आएको छ। ठिक यसैगरी एआई पनि हुने देखिन्छ। एआईमाथिको गेटकिपिङबाट आगामी केही वर्ष बाँकी विश्वमाथिको वर्चस्वलाई निरन्तरता दिने अमेरिकी रणनीति रहेको धेरैको अुनमान छ। 


प्रकाशित : शनिबार, असार ६ २०८३१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend