काठमाडौं- दुई महिनाअघि भारतले नेपालबाट जाने चियामा एउटा नियम लगाइदियो कि खाद्यवस्तुसरहको पूर्ण परीक्षण हुनुपर्ने। यो यस्तो नियम हो जसबाट नेपालबाट जाने अर्थोडक्स चियाको निर्यात ठप्प हुन्छ। यही कारणले गर्दा नेपालका चिया उद्योग, रोजगारी संकटमा परेको छ। गएको सातादेखि नै धमाधम चिया उद्योग बन्दको घोषणा भएका छन्।
चिया उत्पादक तथा व्यापारीहरूले समाधानको पहल नभएको भन्दै उद्योग नै बन्द गर्नुपरेको बताएका छन्। विगतमा पनि पटकपटक भारतले यस्तो अवरोध गर्दै आएको थियो। तर त्यस्तो अवरोध छिटै समाधान हुन्थ्यो। तर यसपटक अलि लामै गएकाले उद्योग नै बन्द गर्ने अवस्थामा उद्योगीहरू पुगेका छन्।
नेपाली चियाको निकासीको अवरोध हटाउनका लागि नेपालले अहिलेसम्म अर्थपूर्ण कुटनीतिक पहल नै सुरु गर्न सकेको छैन।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले कुटनीतिक पहल भइरहेको भनेर संसदमा जानकारी दिएपनि अहिलेसम्म अर्थपूर्ण पहल नै भएको छैन। सम्बन्धित अधिकारीहरूका अनुसार अहिलेसम्म समस्या समाधानका लागि छलफल र सम्बन्धित ठाउँमा कुराकानी नै राख्न सकिएको छैन।
भारतमा नेपाली राजदूत नभएको र कर्मचारी तहको पहललाई भारतीय पक्षले 'इन्टरटेन' नै गरेको छैन। सम्बन्धित अधिकारीहरूका अनुसार नेपालका केही अधिकारीहरूले आफ्नो समकक्षीसँग यसबारेमा चासो राखेपनि खासै चासो दिएका छैनन्। कर्मचारी तहमा भइरहेको पहल एक कदम पनि अघि बढेको छैन।
भारतीय पक्षले राजनीतिक तहकै चासो खोजिरहेको अधिकारीहरूको भनाइ छ। पछिल्लो समय नेपालमा भएका भारतीय राजदूतसँग पनि यसबारेमा खासै चासो राखिएको छैन। राजनीतिक तहमा पनि कुराकानी भएको छैन।
'कुराकानी हुँदा यसमा छलफल गरौँ भन्छन् तर त्यसपछि कुनै पनि प्रतिक्रिया दिँदैनन्। यसैगरी अघि बढेको छ' एक अधिकारी भन्छन्।
वाणिज्य तहमा छलफलले गति नलिएपछि परराष्ट्रको पहल पनि फलदायी नभएको अधिकारीहरू बताउँछन्।
हालैमात्र परराष्ट्रमन्त्री भारत भ्रमणबाट फर्किएपनि सम्बन्ध झन् चिसिएको छ। यसको असर चियाको व्यापारमा देखिएको कतिपयको भनाइ छ। राजनीतिक तहमा छलफल नभइ यसको निकास निस्किने सम्भावना न्यून छ।
भारतीय सीमा बजारमा एक सय रुपैयाँभन्दा धेरैको खरिद गरेर ल्याउन नपाइने नियम ल्याएपछि खटपट भएको सम्बन्ध भारतीय विदेश सचिव तथा विदेशमन्त्रीले नेपालमा प्रधानमन्त्रीसँग भेट्ने समय नपाएपछि भ्रमण रोकिएको थियो।
परराष्ट्रमन्त्री शिशिल खनाल भारतबाट फर्किनेवित्तिकै चीन भ्रमणमा गएको बारेमा पनि भारतले 'कन्सर्न' देखाएको छ। भारतबाट फर्किएपछि भारतीय उच्च अधिकारीको नेपालमा भ्रमण हुने कुरा चलेपनि त्यसलाई नकुरी खनाल चीन भ्रमणमा निस्किएका थिए।
श्रृंखलाबद्ध घटनाक्रमबाट भारत नेपालको नयाँ सरकारसँग सशंकित रहेको छ। यसको असर चियाको निकासीमा देखिएको छ।
गएको मे १ देखि भारतीय चिया बोर्डले नेपाली चियालाई ‘रेडजोन’मा राखिएको खाद्यवस्तुसरह शतप्रतिशत परीक्षणको प्रावधान लागु गरेपछि नेपालबाट भारततर्फ हुने चिया निकासी पूर्णरूपमा रोकिएको हो। निर्यात अवरुद्ध भएको करिब ४५ दिनसम्म समस्या समाधान नभएपछि उद्योगीहरू उत्पादन नै बन्द गर्ने अवस्थामा पुगेका हुन्।
नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको र त्यसमध्ये करिब पाँच अर्ब रुपैयाँबराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहाल बताउँछन्। चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ भने वार्षिक एक अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ।
नेपाल चिया उत्पादक संघका अनुसार संघअन्तर्गत रहेका ३० वटा सीटीसी चिया उद्योगहरू उत्पादन रोक्ने तयारीमा छन्। निर्यात नहुँदा मात्र सीटीसी चियाको करिब ५ लाख किलोभन्दा बढी उत्पादन उद्योगमै थन्किएको छ।
अर्थोडक्स चियाको अवस्था पनि उस्तै छ, जहाँ ठूलो परिमाणमा उत्पादन बजारमा पठाउन नसकी गोदाममै रोकिएको छ। दुवै प्रकारका चियाको मुख्य बजार भारत नै हो, जहाँ अर्थोडक्स चियाको ९० प्रतिशतभन्दा बढी र सीटीसी चियाको ६० प्रतिशतभन्दा बढी हिस्सा निर्यात हुँदै आएको उद्योगीहरूको भनाइ छ।
यस्तो अवस्था हुँदासम्म पनि नेपाली पक्षले कुटनीतिक पहल गर्न सकेको छैन।
चिया उद्योग पूर्णरूपमा बन्द, निर्यात ठप्प हुँदा ६० हजार रोजगारी जोखिममा
चिसिएको हो नेपाल-भारत सम्बन्ध? व्यापारदेखि ठूला ऊर्जा लगानीसम्म अनिश्चितता गहिरिँदै