शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

म्यारियटको विस्तारमा 'सेलिब्रेट' गर्ने तर रोयल्टी भुक्तानीमा अनुदार व्यवस्थाकै निरन्तरता

शुक्रबार, असार ५ २०८३
म्यारियटको विस्तारमा 'सेलिब्रेट' गर्ने तर रोयल्टी भुक्तानीमा अनुदार व्यवस्थाकै निरन्तरता

यो पालि म्यारिटको प्रतिनिधिमण्डले पनि यही सरोकार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँगको भेटमा राखेको थियो। मन्त्री वाग्लेले यस्ता सबै समस्यालाई सहजीकरण गरिने प्रतिबद्धतता भने व्यक्त गरिसकेका छन्।

काठमाडौं- संसारकै ठूलो चेन होटल ब्राण्ड सञ्चालन गर्ने म्यारियट इन्टरनेसनलका प्रमुख नेपाल भ्रमण गरेर गइसकेका छन्। उनी नेपाल आउँदा म्यारियट इन्टरनेसनलका प्रिमियम ब्राण्ड नेपाल भित्रियो सम्झौता पनि भयो। अर्थमन्त्रीसमेत भेट गरेको उक्त प्रतिनिधिमण्डलको भ्रमणका क्रममा भएका सम्झौताका बारेमा नेपालमा राम्रै 'सेलिब्रेसन' भएको थियो। 

चौधरी समूह, शेष घले, शशिकान्त अग्रवाललगायतले नयाँ होटल सञ्चालन तथा व्यवस्थापनका लागि प्रिमियम ब्राण्ड भित्र्याउने सम्झौता सो क्रममा गरेका थिए। नेपालमा म्यारियटका प्रिमियम ब्राण्डको विस्तारमा उत्सव मनाएपनि म्यारियट जस्ता कम्पनीले सेवा तथा ब्राण्डको प्रयोगबापत लिने रोयल्टीको भुक्तानीमा भने अनुदार नीतिको निरन्तरता रहेको छ। 

उत्पादन, प्रविधि र सेवाजस्ता सबै प्रकारका क्षेत्रका लागि एउटै दरको रोयल्टी भुक्तानीको क्याप लगाउने नीति नेपालको रहेको छ। यस्तो नीतिका कारणले गर्दा रोयल्टी भुक्तानी गर्न कठिन भइरहेको छ।

पछिल्लो पटक सम्झौता गर्दा पनि म्यारियटले यसमा मानेको थिएन तर नेपाली व्यवसायीहरूले जुक्ति निकालेर म्यारियटलाई सहमत गराएका छन्। थप प्रक्रिया लाग्ने भएपनि त्यसमा सहमत भएरमात्र म्यारियट तयार भएको व्यवसायीहरूले बताएका छन्। 

अहिले आम्दानीको ५ प्रतिशतभन्दा धेरै रोयल्टीबापत भुक्तानी गर्न नपाइने व्यवस्था रहेको छ। नेपालमा कुनै पनि क्षेत्रका व्यवसायले विदेशी कम्पनीलाई रोयल्टी बुझाउँदा सबैले यही ५ प्रतिशतको क्याप पालना गर्नुपर्ने हुन्छ।

उत्पादनमूलक उद्योगकको हकमा यो स्वाभाविक भएपनि होटलका हकमा भने यो अपर्याप्त रहेको व्यवासयीहरूले विगत लामो समयदेखि गुनासो गर्दै आएका छन्। ‘हामीले यो पर्याप्त छैन भनिरहेका छौँ। होटलको क्षैत्रमा कम्तिमा ८ प्रतिशत हुनुपर्ने अझ म्यारियटका प्रिमियम ब्राण्डमा त १० प्रतिशत नभइ हुँदैन’ एक होटल व्यवसायीले भने। 

कानूनले ५ प्रतिशतभन्दा धेरै भुक्तानीमा रोक लगाएपनि जुक्ति लगाएर ८ प्रतिशतसम्म भने अहिले पनि दिएका छन्। ५ प्रतिशत विदेशी मुद्रामा भुक्तानी दिएपनि बाँकी रकम भने नेपाली रुपैयाँमै भुक्तानी दिने गरेका छन्। त्यो प्रक्रिया निकै झन्झटिलो रहेको छ। 

यसपालि म्यारियटको प्रतिनिधिमण्डले पनि यही सरोकार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा राखेको थियो। मन्त्री वाग्लेले यस्ता सबै समस्यालाई सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। 

 


प्रकाशित : शुक्रबार, असार ५ २०८३१४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend