शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेको बताए।

म्याग्दी- बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना संकलन गरेका छन्।

पसाउने बेलामा केराका टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या देखिएपछि उक्त समस्या पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले आज केरा बगैँचाको निरीक्षण गरेका हुन्।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना संकलन गरेर प्रयोगशालामा लगेको जानकारी दिए।

'समस्या देखिएका बगैँचाको निरीक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुमा, थाम, पात, जराको भागको नमुना संकलन गरेर प्रयोगशालामा पठाएका छौँ', उनले भने, 'प्रयोगशालाको प्रतिवेदनको आधारमा रोग पहिचान गरि नियन्त्रणको प्रयास गरिनेछ।'

प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी र कृषि अनुसन्धान परिषद्का प्राविधिक अधिकृत सुजाता केसीले समस्या देखिएका बगैँचाबाट बोटबिरुवा अन्यत्र लैजान र कृषि औजारलाई अन्यत्र प्रयोग गर्दा सरसफाइ गर्न किसानहरुलाई आग्रह गरे।

एक सय २० परिवार रहेको खबराका १०० भन्दाबढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन्। केराखेती खबराको मुख्य आयस्रोत हो। अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेको बताए।

सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिएको किसान कृष्ण सापकोटाले बताए।

खबरामा ७०० रोपनी क्षेत्रफलमा केराखेती विस्तार भएकामा १५ प्रतिशत बगैँचामा समस्या देखिएको जनाउँदै करिब ३० प्रतिशत उत्पादन घटेको किसान दिपक सापकोटाले जानकारी दिए।

केराखेतीबाट मासिक न्यूनतम १२ हजारदेखि ५० हजारभन्दा बढी आम्दानी किसानले गर्दै आएका छन्। घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ।

विसं २०५८ मा मानबहादुर थापाले काठमाडौंबाट भित्र्याएका केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ। बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो। रासस


प्रकाशित : बिहीबार , असार ४ २०८३१८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend