शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चिया उद्योग पूर्णरूपमा बन्द, निर्यात ठप्प हुँदा ६० हजार रोजगारी जोखिममा

बिहीबार , असार ४ २०८३
चिया उद्योग पूर्णरूपमा बन्द, निर्यात ठप्प हुँदा ६० हजार रोजगारी जोखिममा

भारतले नेपाली चियामाथि लागु गरेको गैरभन्सार अवरोधका कारण निर्यात ठप्प भएपछि नेपालका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्।

काठमाडौं- भारतीय चिया बोर्डले लागु गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपालका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्।

निर्यात अवरुद्ध भएसँगै आज बिहीबारदेखि अधिकांश सीटीसी चिया उद्योगले उत्पादन बन्द गर्ने निर्णय गरेका छन्। यही असार १ गतेदेखि नै अर्थोडक्स चिया उद्योगहरू पनि क्रमशः बन्द हुँदै गएका छन्।

निर्यात रोकिएपछि चिया उद्योगहरू उत्पादन नै बन्द गर्न बाध्य भएको अवस्थामा किसानको आम्दानी, श्रमिकको रोजगारी र समग्र पूर्वी नेपालको अर्थतन्त्रमा गहिरो दबाब सिर्जना भएको सरोकारवालाहरूले बताएका छन्। उद्योगीहरूले तत्काल कुटनीतिक पहलमार्फत समस्या समाधान नभए दीर्घकालीन संकट अझ गहिरिने चेतावनी दिएका छन्।

गएको मे १ देखि भारतीय चिया बोर्डले नेपाली चियालाई ‘रेडजोन’मा राखिएको खाद्यवस्तुसरह शतप्रतिशत परीक्षणको प्रावधान लागु गरेपछि नेपालबाट भारततर्फ हुने चिया निकासी पूर्णरूपमा रोकिएको हो। निर्यात अवरुद्ध भएको करिब ४५ दिनसम्म समस्या समाधान नभएपछि उद्योगीहरू उत्पादन नै बन्द गर्ने अवस्थामा पुगेका हुन्।

नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको र त्यसमध्ये करिब पाँच अर्ब रुपैयाँबराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहाल बताउँछन्। चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ भने वार्षिक एक अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ।

नेपाल चिया उत्पादक संघका अनुसार संघअन्तर्गत रहेका ३० वटा सीटीसी चिया उद्योगहरू उत्पादन रोक्ने तयारीमा छन्। निर्यात नहुँदा मात्र सीटीसी चियाको करिब ५ लाख किलोभन्दा बढी उत्पादन उद्योगमै थन्किएको छ।

अर्थोडक्स चियाको अवस्था पनि उस्तै छ, जहाँ ठूलो परिमाणमा उत्पादन बजारमा पठाउन नसकी गोदाममै रोकिएको छ। दुवै प्रकारका चियाको मुख्य बजार भारत नै हो, जहाँ अर्थोडक्स चियाको ९० प्रतिशतभन्दा बढी र सीटीसी चियाको ६० प्रतिशतभन्दा बढी हिस्सा निर्यात हुँदै आएको उद्योगीहरूको भनाइ छ।

इलामको सूर्योदय नगरपालिकामा मात्रै सञ्चालनमा रहेका ५३ अर्थोडक्स चिया उद्योगले असार १ गतेदेखि उत्पादन बन्द गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार दैनिक करिब ४० हजार किलो चिया उत्पादन गर्ने ती उद्योग बन्द हुँदा करिब ५० हजार किसान तथा श्रमिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

नेपाल चिया उत्पादक संघले आजदेखि सम्पूर्ण सीटीसी चिया उद्योगसमेत बन्द हुने जनाएको छ। निर्यात अवरोधका कारण उद्योगहरूमा मौज्दात अत्यधिक बढ्नुका साथै नगद प्रवाह (क्यास फ्लो) गम्भीर रूपमा प्रभावित भएको उद्योगीहरूले बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चियामाथि लगाएको अवरोध तत्काल हटाउन कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा झापा, इलामलगायत कोशी प्रदेशका जिल्लाबाट भारततर्फ हुने चिया निर्यात सीमामा रोकिँदा उद्योग, किसान, श्रमिक तथा समग्र अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

महासंघका अनुसार नेपाली चिया देशको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक हो, जसले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। विगतमा यस्ता समस्या आपसी संवाद र कूटनीतिक पहलमार्फत समाधान हुँदै आए पनि यसपटक लामो समयसम्म निर्यात अवरुद्ध हुँदा उद्योगीहरू थप चिन्तित बनेका छन्।

महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा करिब १० हजार हेक्टर क्षेत्रमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक करिब २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गर्छ। त्यसमध्ये करिब २ करोड ५६ लाख किलोग्राम भारततर्फ निर्यात हुने गरेको छ। 


प्रकाशित : बिहीबार , असार ४ २०८३११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend