शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

किसानमा उत्साह थप्दै ग्रीन सिटी परियोजना

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
किसानमा उत्साह थप्दै ग्रीन सिटी परियोजना

राझाँ- बाँकेको खजुरा गाउँपालिकामा सुरु भएको ग्रीन सिटी परियोजनाले कृषि पेशा गर्दै आएका किसानमा उत्साह थपेको छ।

परम्परागत रुपमा गर्ने गरिएको कृषि कार्यलाई आधुनिक रुपमा सञ्चालन गर्न परियोजनाले प्रोत्साह गरेको खजुरा गाउँपालिका-३ का अगुवा किसान मानबहादुर भण्डारीले बताए। उनले कोरोनाले थला परेका किसानलाई परियोजनाले आधुनिक कृषि कार्य गर्न हौसला प्रदान गरेको उल्लेख गरे।

खजुरा गाउँपालिका-२ सीतापुरका अगुवा किसान गेहेन्द्र धितालले कृषिमा राम्रो गर्न खर्चिलो प्रविधिबिनै पनि काम गर्न सकिने परियोजनाले सिकाएको बताउँदै त्यसका लागि इच्छाशक्ति आवश्यक रहेको बताए। उनले कृषि कार्य गर्दै आएका आफु जस्ता किसान दाजुभाइलाई परियोजनाले उत्साह थपेको उल्लेख गरे। यो किसानको लागि खजुरामा सबै भन्दा ठूलो र गौरवको योजना भएकाले धेरैभन्दा धेरै किसानलाई समेट्नुपर्ने उनको सुझाव थियो। 

यसको अध्ययनका लागि परियोजना अन्तर्गत पहिलो चरणमा कृषि तथा पशुपालन रोजिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए। उनका अनुसार, थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दिगोपनाका लागि कृषि तथा पशुपालक किसानलाई अनलाइन तालिम दिइएको छ । तालिममा कृषि र पशुपालन गर्ने खजुराका ३० किसानको सहभागिता थियो। 

परियोजनाको सुरुआतमा कृषिलाई प्राथमिकता दिइएको जनाए। खजुरालाई व्यवस्थित ग्रीन सिटीको रुपमा विकास गर्न उज्वेगिस्तानको राजधानी तास्कन्दमा युनाइटेड नेशन अफ साउथ कर्पोरेशन र खजुरा गाउँपालिकाबीच सम्झौता पश्चात टोलीले खजुराको स्थलगत अवलोकन गरेर पहिलो चरणमा तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख पुनम पोखरेलले जानकारी दिए।

अध्यक्ष कक्षपतिले परियोजनाको सुरुवात भइसकेको बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा लागू गर्न आफूले सम्बन्धित निकाय सामु पहल गरिरहेको बताए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले यो परियोजना खजुराको विकासका लागि ठूलो अवसर रहेको बताए। रासस


प्रकाशित : बुधबार, चैत १६ २०७८१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend