शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिमरा सेजको ४ सय ९० बिघा जमिन अतिक्रमित, बालेन सरकारको निर्देशनसँगै हटाउने प्रक्रिया सुरु

शुक्रबार, वैशाख १८ २०८३
सिमरा सेजको ४ सय ९० बिघा जमिन अतिक्रमित, बालेन सरकारको निर्देशनसँगै हटाउने प्रक्रिया सुरु

सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका साइट इन्चार्ज तथा इन्जिनियर पप्पु गिरीले ४ सय ९० विघा क्षेत्रफलमा किसानले खेतीपाती गरेर अतिक्रमण गर्दै आइरहेकाले अब हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

वीरगञ्ज- सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४ सय ९० बिघा जमिन अतिक्रमण भएको छ। सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहरा निर्माण गरेर अस्थायी रूपमा बसोबास गरिरहेका छन्।  

विशेष आर्थिक क्षेत्र प्राधिकरण मातहत ८ सय ३३ बिघा जग्गा भए पनि अहिले ३ सय ४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा उद्योग तथा कलकारखना सञ्चालन एवं केही उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। तर बाँकी रहेको अन्य जग्गामा अतिक्रमण गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्। 

सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका साइट इन्चार्ज तथा इन्जिनियर पप्पु गिरीले ४ सय ९० विघा क्षेत्रफलमा किसानले खेतीपाती गरेर अतिक्रमण गर्दै आइरहेकाले अब हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्राधिकरणले गत वैशाख ९ गते पत्र लेखेर जितपुरसिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर जग्गा अतिक्रमण हटाउनका लागि आवश्यक समन्वय र सहजीकरण गर्नका लागि अनुरोध गरिएको छ।

'विशेष आर्थिक क्षेत्रको जग्गा अतिक्रमण गरी बनेका घरटहरा हटाउन, लगाइसकेका बालीनाली उठाउन तथा नयाँ बालीनाली नलगाउन स्थानीयलाई जानकारी गराएर अतिक्रमित जग्गा खाली गराउनका लागि अनुरोध भइसकेको छ,' सेजका साइट इन्चार्ज गिरीले भने, 'सरकारी निकायसँग आवश्यक समन्वय गर्ने काम भइरहेको छ।' 

विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमराका सबइन्जिनियर अजयकुमार चौधरीले वीरगञ्ज चिनी कारखाना बन्द भएपछि सो कारखानामा काम गर्ने ९३ जना कामदारलाई अस्थायी रूपमा बसोबास गर्न र खनजोत गर्नका लागि प्रतिपरिवार छ कट्ठाका दरले जग्गा उपलब्ध भएको जानकारी दिए।

'हामीले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेका छौँ,' उनले भने, 'जितपुर सिमरा उपमहानगरपालिका र स्थानीय प्रशासनबाट सहयोग गर्ने प्रतिबद्धता पाइसकेका छौँ।' प्राधिकरणका अनुसार अहिले यहाँ अस्थायी रूपमा घरटहरा बनाएर करिब छ सयभन्दा धेरै बसोबास गर्दै आइरहेको जनाएको छ। प्राधिकरणअन्तर्गत पाँच वटा ब्लक रहेका छन्। 

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणको अतिक्रमित जग्गा र घरटहरा हटाउनका लागि  आवश्यक शान्तिसुरक्षा दिनका लागि तयार रहेको बताए। 'प्राधिकरण र गृहमन्त्रालय दुवै निकायबाट अतिक्रमित जग्गा हटाउन आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध आएको छ,' उनले भने, 'प्राधिकरणले मिति तोकेर हटाउन भनेपछि हामीले आवश्यक शान्तिसुरक्षा उपलब्ध गराएर सहजीकरण गर्न तत्पर रहेका छौँ।' 

‘ए’ ब्लकमा ३ सय ४३ बिघा जग्गा रहेको छ। जहाँ अहिले आधा दर्जनभन्दा धेरै उद्योग चालु अवस्थामा रहेका छन् भने एक दर्जन उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। त्यस्तै ‘बी’ ब्लकमा १ सय २८ बिघा क्षेत्रफल रहेको छ। जहाँ ७० प्रतिशतभन्दा धेरै जग्गा प्राधिकरण मातहत नै छ। त्यस्तै ‘सी’ ब्लकमा भने ४९ दशमलव ५ बिघा जग्गा रहेको छ। त्यस्तै ‘डी’ ब्लकमा १ सय ३३  बिघा र ‘इ’ ब्लकमा १ सय ७८ दशमलव ५ बिघा जग्गा रहेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १८ २०८३१७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend