शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर

शुक्रबार, वैशाख १८ २०८३
बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर

बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूलाई लक्षित गर्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

काठमाडौं- बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूलाई लक्षित गर्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। अस्थायी बसोबासमा रहेका प्रभावित नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विभिन्न सरकारी अस्पतालका विशेषज्ञ टोलीहरू खटाइएको हो।

शिविरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा कान्ति बाल अस्पताल, परोपकार प्रसूति गृह र पाटन मानसिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ। यहाँ बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ।

स्वास्थ्य शिविरमा आएका बिरामीहरूलाई स्थलमै आवश्यक औषधी र परामर्श उपलब्ध गराइँदैछ भने जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि सम्बन्धित सरकारी अस्पतालमा ‘रेफर’ गर्ने व्यवस्था गरिएको छ। हालसम्म ६८ जनाले सेवा लिइसकेको जनाइएको छ।

विस्थापनपछि उत्पन्न हुन सक्ने मानसिक तनाव, असुरक्षा र संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विशेषगरी पाटन मानसिक अस्पतालको टोलीले मनोसामाजिक परामर्शलाई प्राथमिकतामा राखेको छ। चिकित्सकहरूका अनुसार बसोबास गुमाउँदा हुने मानसिक असरलाई समयमै सम्बोधन गर्नु आवश्यक देखिएको छ।

यसैबीच, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। उक्त शिविरमा विशेषगरी आँखा र दाँतसम्बन्धी उपचार सेवामा सेवाग्राहीहरूको उल्लेख्य आकर्षण देखिएको छ।

शिविर सञ्चालनका लागि काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागबीच समन्वय गरिएको छ। पर्याप्त जनशक्ति, औषधी तथा आवश्यक सामग्रीको व्यवस्थासहित प्रभावित नागरिकलाई राहत स्वरूप स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ। सरकारले जोखिम क्षेत्रमा रहेका नागरिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता शिविरलाई थप विस्तार गर्ने तयारीसमेत गरेको छ।


प्रकाशित : शुक्रबार, वैशाख १८ २०८३१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend