शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बागमती किनारका अति जोखिमपूर्ण बस्ती बल्खु र वंशीघाटका ६ सय ८६ संरचना हटाइने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १८ २०८३
बागमती किनारका अति जोखिमपूर्ण बस्ती बल्खु र वंशीघाटका ६ सय ८६ संरचना हटाइने

जोखिमपूर्ण बस्ती हटाउने क्रममा आज वैशाख १९ गते शुक्रबार काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाइएको छ।

काठमाडौं-  सरकारले बागमती र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्तै जोखिमपूर्ण बस्ती हटाउने अभियानलाई तीव्र पारेको छ। 

जोखिमपूर्ण बस्ती हटाउने क्रममा आज वैशाख १९ गते शुक्रबार काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित निकायहरूसँगको आपसी समन्वयमा यो कार्य सुरु गरेको हो। आजको अभियानमा कुल ६ सय ८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ। जसमा बल्खु क्षेत्रका ४ सय ८६ टहरा र वंशीघाट क्षेत्रका २ सय संरचना रहेका छन्।

 बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गरी नागरिकको जीउधनको रक्षा गर्नु यस कदमको मुख्य उद्देश्य रहेको सरकारले जनाएको छ।

बल्खु र वंशीघाटपछि सरकारले क्रमशः शङ्खमूल लगायतका माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाउने योजना बनाएको छ। तर, सुकुम्बासीहरूको हकमा भने सरकारले संवेदनशील नीति अपनाएको छ। वास्तविक सुकुम्बासीको पहिचान र उनीहरूको सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र ती क्षेत्रका जग्गा खाली गराइने भएकाे छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई वास्तविक सुकुम्बासीको सुरक्षित आवास, स्वास्थ्य र पोषणको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको छ।

यस्तै, देशभरका सार्वजनिक जग्गा खाली गर्ने क्रममा जनमानसमा फैलिएको त्रासलाई सम्बोधन गर्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ। मन्त्रालयका अनुसार स्थानीय तहले सुकुम्बासीको पहिचान र व्यवस्थापनको योजना तयार पारी स्थानीय जनतालाई पूर्वसूचना दिएपछि मात्र अतिक्रमण हटाउने कार्य अघि बढ्नेछ। स्थानीय तहको ठोस योजना र माग बमोजिम मात्र सुरक्षा प्रबन्ध मिलाइने हुँदा विना तयारी र विना सूचना कुनै पनि हस्तक्षेप नहुनेमा गृह मन्त्रालयले नागरिकलाई आश्वस्त पारेको छ।


प्रकाशित : शुक्रबार, वैशाख १८ २०८३१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend