काठमाडौं- काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत आज आधा दर्जनभन्दा बढी स्थानमा एकैपटक डोजर परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा सुरु गरिएको अभियानअनुसार काठमाडौं महानगरपालिका–११ को वंशीघाट, वडा नं. १४ को बल्खु, वडा नं. १५ को स्वयम्भू, वडा नं. १६ को बालाजु तथा वडा नं. ३ र २६ अन्तर्गतका सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रमा डोजर चलाइएको हो। प्रशासनले बिहान ७ बजेदेखि नै संरचना हटाउने कार्य थालेको जनाएको छ। उक्त अभियानका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यसअघि नै सूचना जारी गर्दै नदी किनार, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा बसोबास गर्दै आएका बस्तीहरूलाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थित सहरी व्यवस्थापनका लागि हटाउन लागिएको जनाएको थियो। सूचना अटेर गरी बस्ती नछाडेमा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने चेतावनीसमेत प्रशासनले दिएको छ।
डोजर अभियानको तयारीस्वरूप केही दिनअघिदेखि माइकिङ सुरु गरिएपछि धोबीखोला किनार आसपासका अनामनगर क्षेत्रका केही बासिन्दा बस्ती छाड्न थालेका थिए।
यसअघि वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रमा समेत डोजर परिचालन भइसकेको छ। आजबाट बाँकी रहेका क्षेत्रहरूमा अभियान विस्तार गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले प्रभावित बासिन्दालाई जोखिमयुक्त घरटहरा तत्काल खाली गर्न, बिरामी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित स्थानमा सार्न र आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन आग्रह गरेको छ। साथै, वास्तविक भूमिहीनको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गरिने प्रतिबद्धता पनि जनाइएको छ।