शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युत् प्राधिकरणको डिजिटल पूर्वाधार कम्पनी सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १७ २०८३
विद्युत् प्राधिकरणको डिजिटल पूर्वाधार कम्पनी सञ्चालनमा

मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा  परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ। 

मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा  परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

‘पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ’, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने। 

प्राधिकरणका अनुसार यस कम्पनीले इन्टरनेट सेवा प्रदायकलाई ‘प्लग-एण्ड-प्ले’ ढाँचामा पूर्वाधार उपलब्ध गराउनेछ। प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकको पुँजीगत खर्च घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको पनि प्राधिकरणले जनाएको छ।

कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट, पोललाई प्यासिभ एसेट्स’का रूपमा भाडामा उपलब्ध गराउनेछ। 

काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको अव्यवस्थित तार हटाउन यस कम्पनीले प्राथमिकताका साथ काम गर्नेछ । ‘भूमिगत पाइपको साझा प्रयोगले सहरी सौन्दर्य फर्काउनुका साथै विद्युत् र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्ने अपेक्षा हामीले गरेका छौँ’ कार्यकारी निर्देशक शाक्यले भने, ‘हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झट पनि योसँगै अन्त्य हुनेछ।’

नेपालका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्न उक्त कम्पनीले सहयोग पुर्‍याउने विश्वास गरिएको छ।रासस 


प्रकाशित : बिहीबार , वैशाख १७ २०८३१६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend