शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अमेरिका-इरान तनाव लम्बिँदै, कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर नजिक

बिहीबार , वैशाख १७ २०८३
अमेरिका-इरान तनाव लम्बिँदै, कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर नजिक

विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १२० अमेरिकी डलर नजिक पुगेको छ,

काठमाडौं- अमेरिका र इरानबीचको द्वन्द्व समाधानविहीन बन्दै गएको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेको छ।

विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १२० अमेरिकी डलर नजिक पुगेको छ, जुन पछिल्ला केही वर्षयताकै उच्च स्तर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगाइएको समुद्री नाकाबन्दी तत्काल हटाउने संकेत नदिएपछि तेल आपूर्ति लामो समयसम्म प्रभावित हुने चिन्ता बढेको हो। विशेषगरी होर्मुज जलडमरूमध्यजस्तो महत्वपूर्ण समुद्री मार्गमार्फत हुने ढुवानी अवरुद्ध हुँदा विश्व बजारमा आपूर्ति खुम्चिएको छ।

अमेरिकी कच्चा तेल डब्लुटिआई पनि प्रति ब्यारेल १०७ डलरभन्दा माथि पुगेको छ। पछिल्ला दिनहरूमा दुवै सूचक लगातार बढिरहेका छन्, जसले ऊर्जा बजारमा असन्तुलन गहिरिँदै गएको संकेत गर्दछ।

ऊर्जा क्षेत्रका विश्लेषकहरूका अनुसार इरानको निर्यात घट्नु र वैकल्पिक आपूर्ति तत्काल बढ्न नसक्नुले बजारमा दैनिक लाखौँ ब्यारेल तेल अभाव हुने अवस्था देखिएको छ। नाकाबन्दी लम्बिएमा मूल्य अझै माथि जान सक्ने अनुमान गरिएको छ।

यता, विश्वव्यापी रूपमा हवाई इन्धन तथा पेट्रोकेमिकल क्षेत्रमा माग केही कमजोर देखिए पनि आपूर्ति संकटका कारण मूल्य घट्ने अवस्था देखिएको छैन।
तेल मूल्यमा आएको यो वृद्धिले विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने देखिएको छ।


प्रकाशित : बिहीबार , वैशाख १७ २०८३०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend