शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अस्पतालमा भिडियो खिच्न र होहल्ला गर्न प्रतिबन्ध

बिहीबार , वैशाख १७ २०८३
अस्पतालमा भिडियो खिच्न र होहल्ला गर्न प्रतिबन्ध

स्वास्थ्य तथा जनसंख्या मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्न कडा कदम चालेकी छन्।

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्न कडा कदम चालेकी छन्। मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिलाई कार्यान्वयनमा ल्याउँदै मन्त्री मेहताले देशभरका स्वास्थ्य संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेकी हुन्।

जारी निर्देशन अनुसार अबदेखि अस्पताल परिसरमा सम्बन्धित संस्थाको पूर्व–स्वीकृति विना भिडियो वा फोटो खिच्न, अन्तर्वार्ताको नाममा अनावश्यक भीडभाड गर्न तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन गर्नुका साथै उपचार प्रक्रियामा प्रत्यक्ष असर पार्ने भएकाले नियन्त्रण आवश्यक भएको हो। विज्ञप्तिमा उल्लेख गरिएअनुसार नियमविपरीत यस्ता कार्य गर्ने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कडा कारबाही गरिनेछ।

यसका लागि मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई समेत आवश्यक निर्देशन दिइसकेको जनाएको छ।

मन्त्री मेहताले उपचारको क्रममा कुनै कमी–कमजोरी भएको महसुस भएमा अस्पतालमा तोडफोड वा होहल्ला गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालालाई आग्रह गरेकी छन्। उनले स्वास्थ्य संस्थालाई सुरक्षित, व्यवस्थित र बिरामीमैत्री बनाउन सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेकोमा जोड दिएकी छन्।


प्रकाशित : बिहीबार , वैशाख १७ २०८३०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend