काठमाडौं- यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ। बुधबारदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा बढेको हो।
विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको जनाएको छ। बढेको भाडा आज बुधबारदेखि नै लागु हुने छ।
अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ५ प्रतिशतका दरले भाडा समायोजना भएको हो।
यसअघि विभागले चैत २५ गते पनि सार्वजनिक सवारीको भाडा वृद्धि गरिएको थियो। भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ बैशाखमा सहमति दिएको थियो। सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ। विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ। यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही गर्ने विभागको भनाइ छ।